काठमाडौं । बहुविवाह मुद्दामा प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाल पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाललाई पक्राउ गरेको हो । उनी जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा कार्यरत थिए । डीएसपी नेपालकी श्रीमतीको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिई नेपाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले बताएका छन् ।
एसपी क्षेत्रीले भने, ‘बहुविवाहको केस परेपछि उहाँ आफैँ हिजो साँझ आउनुभएको थियो, उहाँलाई पक्राउ गरेर म्याद थप गरिएको छ ।’ नेपालमाथि ३ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उनले बताएका छन् । बहुविवाहबारे थप प्रमाण बुझ्ने काम भइरहेको उनले बताएका छन् ।
नेपालकी दोस्रो श्रीमतीको खोजी भइरहेको एसपी क्षेत्रीले जानकारी दिएका छन् । प्रहरी निरीक्षक हुँदा डीएसपी नेपाल बुटवलको वडा प्रहरी कार्यलयमा इन्चार्ज थिए ।
उनी गाँजाको कारोबार सम्बन्धी आर्थिक कारोबारमा संलग्न रहेको पाइएपछि विभागीय कारबाहीमा परेका थिए ।