शुक्रवार, आश्विन १६ गते २०८३

एमालेको ११औँ महाधिवेशनमा नेपालका १६ दललाई निम्तो, विदेशी पाहुना नबोलाउने

बिहिवार , मंसिर २५, २०८२

काठमाडौं । नेकपा एमालेले ११औँ महाधिवेशनमा विदेशी पाहुना नबोलाइने भएको छ ।

बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको महाधिवेशन मूल व्यवस्थापन सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले नेता महेश बर्तौलाले यसबारे जानकारी गराएका हुन् । उनका अनुसार एमालेले भौतिक उपस्थितिका लागि विदेशी राजनीतिक दलहरूलाई आमन्त्रण नगरिएको बरु विभिन्न देशका २६ वटा राजनीतिक दललाई शुभकामना पत्र पठाउन भनिएको छ ।

एमालेको ११औँ महाधिवेशन यही मंसिर २७ देखि २९ सम्म भक्तपुर र काठमाडौँमा हुँदै छ । महाधिवेशन उद्घाटनमा नेपालका १६ राजनीतिक दललाई आमन्त्रण गरिएको बर्तौलाले जानकारी दिएका छन् । महाधिवेशनमा एमालेले जनपरिचालनलाई विशेष प्राथमिकता दिएइको नेता बर्तौलाले बताएका छन् । उनका अनुसार महाधिवेशनका लागि नेता, कार्यकर्ता काठमाडौं आउने क्रम जारी छ ।

उनले भने, ‘यो पटकको महाधिवेशनमा बाह्य देशबाट विदेशी पाहुनाहरूको हकमा भौतिक रूपमा उहाँहरूलाई आमन्त्रित गरेका छैनौँ । उहाँहरूबाट शुभकामना पत्र मात्रै माग गरेका छौँ । उहाँहरूलाई त्यसरी पत्राचार गरेका छौँ । विभिन्न देशका हाम्रो पार्टी सम्बद्ध रहेका २६ वटा पार्टीहरू र  गैरकम्युनिस्ट पार्टीहरूलाई निमन्त्रणा पठाएका छौँ, नेपालका १६ वटा दलहरूलाई पत्राचार गरेका छौँ ।’

महाधिवेशनमा १ सय ८ जना मनोनीतसहित २ हजार २ सय ६८ प्रतिनिधि सहभागी हुने बर्तौलाले जानकारी दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार