काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली राजनीतिमा अब युवाहरूको दबदबा कायम हुने बताएका छन् ।
शुक्रबार राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको सामाजिक जवाफदेहिताः मिडिया र युवा संवाद विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिमा युवाहरूको उपस्थितिलाई कसैले रोकेर नरोकिने बताएका छन् । उनले राजनीतिलाई नीतिहरूको राजा मान्ने हो भने समावेशिता, ३३ प्रतिशत महिला प्रतिनिधित्व कायम र युवाहरूको उपस्थिति अनिवार्य रहेको बताएका छन् ।
राजनीतिक दलहरूलाई युवाहरूलाई राजनीतिक नेतृत्वमा ल्याउनका लागि तयार नभई सुख नरहेको जिकिर गरेका छन् । घाटमा जाने बेलासम्म पनि आफैँ नेता बन्ने, आफैँ प्रमुख बन्ने, आफैँ प्रधानमन्त्री बन्ने, आफैँ अध्यक्ष बन्ने गरेको उनको टिप्पणी छ । उनले भने, ‘नेपाली राजनीतिमा अब युवाहरूको दबदबा कायम हुनेवाला छ । जबरजस्त उपस्थिति हुनेवाला छ । कसैले रोकेर रोकिँदैन । पार्टीभित्र र नयाँ पार्टीभित्र । यदि नीतिहरूको राजा राजनीति मान्ने हो भने अब हरेक राजनीतिक पार्टीहरूले स्पष्ट रुपमा समावेशिता, ३३ प्रतिशत महिला प्रतिनिधित्व कायम गर्नुपर्छ ।’
उनले अगाडि भने, ‘युवालाई राजनीतिक नेतृत्वमा ल्याउनका लागि तयार नभई सुखै छैन् । रहरले त किन दिन्थे र ? घाटमा जाने बेलासम्म पनि आफैँ नेता बन्ने, आफैँ प्रमुख बन्ने, आफैँ प्रधानमन्त्री बन्ने, आफैँ अध्यक्ष बन्ने, यो त देखिराखिएको छ त फेहरिस्त । अहिले दिन्छु–दिन्छु भनेर मन फुकाएर दिएको होइन नि । बाध्यता हो । नदिकन सुखै छैन्, दिनुपर्छ ।’