काठमाडौं । नेकपा एमालेले भोलिदेखि सुरु हुने ११ औँ महाधिवेशनलाई भयरहित बनाउन कमान्ड संरचना अनुसार ५ सय भन्दा बढी स्वयंसेवक परिचालन गर्ने भएको छ ।
शुक्रबार महाधिवेशनको उद्घाटन स्थल भक्तपुरको सल्लाघारीमा आयोजना गरिएको पत्रकार सम्मेनलमा स्वयंसेवक समिति संयोजक भानुभक्त ढकालले २४ जनसंगठनबाट प्रतिनिधित्व गराएर ५ सयभन्दा बढी स्वयंसेवकलाई विशेष ‘ड्रेस कोड’सहित खटाउने जनकारी दिएका छन् । ढकालले भने, ‘यो कार्यक्रम भयरहित ढंगले सम्पन्न गर्नका लागि हामीले २४ वटा जनसंगठनबाट प्रतिनिधित्व गराएर ५ सयभन्दा बढी स्वयंसेवक ड्रेस कोड हुनेगरी परिचालन गर्दै छौँ ।’
स्वयंसेवकहरूको परिचालन एमालेले कमान्ड संरचनामा गर्ने छ । उनले भने, ‘५ सय स्वयंसेवकभित्र पनि हामीले नेतृत्व कमाण्डको व्यवस्था गरेका छौँ, प्रत्येक १० जना बराबर १ कमाण्डरको संरचनाबाट त्यो काम गरेका छौँ ।’ त्यस्तै महाधिवेशनपछिका कार्यक्रमलाई व्यवस्थित बनाउन खुला संरचनामा १० हजार स्वयंसेवक पनि परिचालन गर्ने छन् । ढकालले भने, ‘भोलिको कार्यक्रम व्यवस्थित गर्नका लागि हामीले १० हजार स्वयंसेवक परिचालन गर्ने कार्यक्रम बनाएका छौँ ।’
यी १० हजार स्वयंसेवकहरू विभिन्न जनसंगठनमार्फत परिचालित हुनेछन् । त्यसमा अनेरास्ववियु, युवा संघ र जीफन्टलगायत हुने छन् । ती स्वयंसेवकले कार्यक्रमस्थल व्यवस्थापन, अतिथि सत्कार तथा देशभरबाट आउने प्रतिनिधि र सहभागीहरूको सहजीकरण खटिएर काम गर्ने छन् ।