काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिकतर्फको निर्वाचनमा भाग लिने दललाई निर्वाचन चिन्ह प्रदान गरेको छ ।
मंसिर २१, २२ र २३ गते गरेर ३ दिनको समय सीमा भित्र समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि निवेदन दिएका दलमध्ये अन्तिम रूपमा कायम हुन १०० दललाई विभिन्न ९३ वटा निर्वाचन चिन्ह निर्वाचन आयोगले प्रदान गरेको हो ।
समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि निवेदन दिएका १०० वटा दलमध्ये ११ वटा दललाई २०७९ को प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ प्राप्त गरेको मत संख्याको आधारमा क्रमसंख्या र निर्वाचन चिन्ह प्रदान गरिएको हो ।
जसमा पहिलो नम्बरमा नेकपा (एमाले)को सूर्य, दोस्रोमा नेपाली काँग्रेसको रुख, तेस्रोमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को पाँचकुने तारा, चौथोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को घण्टी र पाँचौँमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को हलो रहेको छ ।
यस्तै छैटौँमा जनता समाजवादी पार्टी नेपाल (जसपा)को ढल्केको छाता, सातौँमा जनमत पार्टीको लाउड स्पिकर, आठौँमा नागरिक उन्मुक्ति पार्टीको पिँध भएको सादा ढकिया, नवौँमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को साइकल, दशौँमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को मादल र एघारौमा राष्ट्रिय जनमोर्चाको गिलास रहेको छ ।