काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनको मिति र स्थान औपचारिक रूपमा तय गरेको छ ।
संघको एकता प्रयासपछि गठित स्टेरिङ कमिटीको आइतबार सम्पन्न दोस्रो बैठकले आगामी २०८२ साल फागुन ११, १२ र १३ गते (सन् २०२६ फेब्रुअरी २३, २४ र २५) काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो । संघका महासचिवद्वय गौरीराज जोशी र बी.आर. लामाले जारी गरेको विज्ञप्ति अनुसार, स्टेरिङ कमिटीले महाधिवेशनको तयारीलाई तीव्रता दिँदै मिति घोषणा गरेको हो । बैठकले महाधिवेशनको मिति तय गर्नुका साथै सांगठनिक एकता र आन्तरिक व्यवस्थापनका लागि विभिन्न महत्त्वपूर्ण निर्णयहरू पनि गरेको छ ।
एकता सहजीकरणका लागि विशेष समिति गठन
राष्ट्रिय समन्वय समिति (एनसीसी)हरू बिचको एकतालाई निष्कर्षमा पुर्याउन बैठकले गंगाधर गौतमको संयोजकत्वमा पाँच सदस्यीय ‘एनसीसी एकता समिती’ गठन गरेको छ । उक्त समितिको सह–संयोजकमा टीका गुरुङ (राधिका) रहेकी छिन् भने सदस्यहरूमा शनि कुमार ओली,नारायण काफ्ले र चिरञ्जीवी खड्का रहेका छन् ।
क्षेत्रीय अन्तरक्रिया कार्यक्रम तय
संघले बृहत् एकताको सन्देश विश्वभरका नेपालीमाझ पुर्याउन क्षेत्रीय स्तरमा अन्तरक्रिया तथा संवाद कार्यक्रमहरूको तालिका पनि सार्वजनिक गरेको छ । डिसेम्बर १९ मा मध्यपूर्व तथा अफ्रिका क्षेत्र, डिसेम्बर २० मा एसिया प्रशान्त तथा ओसिनिया क्षेत्र र डिसेम्बर २१ मा अमेरिकाज तथा युरोप क्षेत्रमा हुने भएको छ ।
अनुशासन र प्रतिवद्धतामा जोड
बैठकले सदस्यता सम्बन्धी समितिलाई ५ बाट बढाएर ७ सदस्यीय बनाउने निर्णय गरेको छ । साथै, अनुशासनलाई कडाइका साथ पालना गराउन स्टेरिङ कमिटीका सम्पूर्ण सदस्यहरूले आगामी बैठक अगावै प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । तोकिएको समयभित्र हस्ताक्षर नगर्ने सदस्यलाई आगामी बैठकमा सहभागी नगराइने निर्णय समेत भएको छ ।
संघले १२औँ महाधिवेशनलाई ऐतिहासिक र सफल बनाउन विश्वभर छरिएका गैरआवासीय नेपाली समुदाय, राष्ट्रिय समन्वय परिषदहरू र सरोकारवाला सबै पक्षलाई सहयोगका लागि अपिल गरेको छ । एनआरएनएले अधिवेशनका लागि विज्ञप्ती जारी गरेपनि अधिवेशन एनआरएनए डे अक्टोबरमा नै गर्नुपर्ने बिश्वमा रहेका धेरै एनआरएनए अभियन्ता र गैर आवासीय नेपालीहरुले माग गरेका छन् ।
उनिहरुले आगामी महाधिवेसनले एनआरएनएको गिरेको साख उचाल्नुपर्ने भएकाले एनआरएनए डेमा बृहत् अधिवेसन गरि बिश्वमा रहेका धेरै नेपालीलाई काठमाडौंनै बोलाएर प्रत्यक्ष निर्वाचन गर्नुपर्ने बताएका छन् ।