काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्नेमा जोड दिएका छन् ।
डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यलयको सोमबार अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री खरेलले बदलिदो परिस्थितिलाई आत्मसात गरी हुलाक सेवालाई व्यावसायिक कार्ययोजनासहित अगाडि बढाइनुपर्ने बताएका छन् । सञ्चारमन्त्री खरेलले भने, ‘हामीले हुलाक सेवालाई अझ व्यावसायिक र प्रतिस्पर्धी बनाउनैपर्छ, हुलाकले कमाउन सक्नुपर्छ, हुलाकासँग अबको पाँच वर्षभित्रमा राज्य र जनतालाई योगदान गर्नसक्ने गरी कार्यान्वयनमुखी कार्ययोजना हुन आवश्यक छ।’
उनले ‘स्मार्ट हुलाक’ को कामलाई तीब्रताका साथ अगाडि बनाउन पनि निर्देशन दिएका छन् । सञ्चार सचिव राधिका अर्यालले स्मार्ट हुलाकका लागि नीतिगत र संरचनागत सुधारका पक्षमा पहल भइरहेको जानकारी दिँदै भने, ‘स्मार्ट हुलाकको मापदण्ड स्वीकृतिका लागि मन्त्रालयमा प्रस्ताव आइसकेको छ, यो छिट्टै स्वीकृत भएर कार्यान्वयनमा जान्छ ।’
उनले थपे, ‘यसवर्ष ५० वटा हुलाक कार्यालयलाई स्मार्ट हुलाक बनाउने गरी बजेट व्यवस्था भइसकेको छ ।’