काठमाडौं । रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि जनमतका केन्द्रीय वरिष्ठ उपाध्यक्षसमेत रहेका वसन्त कुशवाहाले मधेश सरकारबाट बाहिरिने चेतावनी दिएका छन् ।
कुशवाहाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै चेतावनी दिएका हुन् । मन्त्री परिषद विस्तारको क्रममा सोमबार उद्योग बाणिज्य तथा पर्यटन मन्त्रालय नेकपा एकीकृत समाजवादीलाई परेको छ । २१ गते नै विनाविभागीय मन्त्री बनेका एकीकृत समाजवादीका कनिष पटेललाई सो मन्त्रालयको जिम्मेवारी दिएको छ । यसपछि जनमत असन्तुष्ट बनेको हो ।
यसैलाई लक्षित गर्दै विगमा जनमतबाट सो मात्रालयको जिम्मेवारी सम्हालिसकेका कुशवाहाले मधेश प्रदेश सरकारमा जनमत पार्टीको उपस्थिति दयनीय अवस्थामा आइपुगेको उल्लेख गरेका हुन् । उनले समाजिक सञ्जालमा उनले लेखेका छन्, ‘यस आर्थिक वर्षमा हामीले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय अन्तर्गत १०औ हजार रोजगारी सृजना गर्ने कार्यक्रम बजेटमा विनियोजन गरेका छौं । तर भागवन्डाको नाममा अरुलाई त्यो मन्त्रालय दिनु भनेको सम्पूर्ण रोजगारी कार्यक्रमलाई अल्पत्र पार्नु हो ।’
उनले जनमत पार्टीको उदेश्य बमोजिम सरकार सुनिश्चित नभए पार्टी सरकार छाड्न तयार हुनुपर्ने चेतावनी दिएका हुन् । उनको चेतावनी छ, ‘जनमत पार्टीको उदेश्य बमोजिम सरकारमा सुनिश्चिता नभए मधेश प्रदेश सरकारबाट हामी अलग हुन तैयार हुनु पर्छ ।’ हालसम्म सातदलीय गठबन्धनमा जसपा र जनातबाहेक एकएक मन्त्रालय लिएर सरकारमा सहभागी भइसकेको छ ।
जमतले महत्त्वपूर्ण अर्थ मन्त्रालय लिइसकेको छ । संसदीय दलका नेता महेश प्रसाद यादव अर्थमन्त्री छन् ।