काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष विश्वक्रान्ति भनिने राजकुमार लामालाई निलम्बन गरेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उपाध्यक्ष लामालाई पक्राउ गरेपछि साम्पाङले बुधबार बिहान फेसबुकबाट भिडिओ सन्देश जारी गरी उनलाई निलम्बन गरिएको जानकारी दिएका हुन्।
धनकुटा घर भई कपन बस्ने ५० वर्षीय लामाविरूद्ध २०६८ फागुन १५ गते काठमाडौंको बबरमहलस्थित नेपाल आयल निगमको गेटमा टाइम बम बिस्फोट गराएको आरोप छ। त्यस घटनामा तीन जनाको मृत्यु भएको, एक जना घाइते समेत भएका थिए।
कर्तव्य ज्यान र ज्यान सम्बन्धी कसूर समेतमा फरार रहेका उनलाई सुरूमा २०६९ असार १२ गते पाँचथरको भुसपातेमा विष्फोटक पदार्थसहित पक्राउ गरेको थियो।
सुरूमा कर्तव्य ज्यान र ज्यान सम्बन्धी कसुरको अनुसन्धान र कारबाहीका लागि उनलाई काठमाडौं पठाइएको थियो। केन्द्रीय कारागार नख्खुमा कारागार चलान गर्दा २०७६ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा छुटेका थिए।
तर उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय पाँचथरमा दर्ता भएको विष्फोटक पदार्थ सम्बन्धी मुद्दामा भने फरार नै देखिएका थिए। त्यसैले उनलाई पक्राउ गरी अनुसन्धानका लागि पाँचथर पठाएको प्रहरीले जनाएको छ।
उनका अनुसार लामाका तीन वटा उपनाम छन्। उनी कुमार, विश्वक्रान्ति र देवराज लामाका उपनामबाट चिनिन्छन्। भिडिओ सन्देशमार्फत साम्पाङले उनको पृष्ठभूमीमबारे आफू अनविज्ञ भएको बताएका छन्।