काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पुस ४ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री यादवले बुधबार प्रदेश सभा सचिवालयलाई पत्र पठाएर विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । उनले पठाएको पत्रमा भनिएको छ, ‘नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न मिति २०८२ पुस ४ गते शुक्रबारको दिन दिउँसो ४ बजे विश्वासको मत लिने व्यवस्था मिलाइ दिनुहुन अनुरोध गर्दछु ।’
विश्वासको मत नलिएका कारण उनले मन्त्रिपरिषद् विस्तार गर्न पाएका छैनन् । अहिलेसम्म नेपाली कांग्रेसबाट जङ्गीलाल यादव स्वास्थ्य तथा जनसंख्यामन्त्री, नेकपा (एकीकृत समाजवादी) बाट गणेश पटेल उद्योग वाणिज्य पर्यटनमन्त्री, नेकपा (माओवादी केन्द्र) बाट जवाहर कुशवाह उर्जा, सिँचाइ तथा खानेपानीमन्त्री र लोकतान्त्रिक समाजवादी पार्टीबाट रानीकुमारी तिवारी मन्त्री छन् । तिवारीलाई मन्त्रालयको जिम्मेवारी दिन बाँकी छ ।
उनी गत मंसिर १९ मा ६ दलका ७७ जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका थिए । संविधानअनुसार, दुई वा दुईभन्दा बढी दलको समर्थनमा बनेको मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्छ ।