काठमाडौँ । नेकपा एमालेका अध्यक्ष प्रत्यासी ईश्वर पोखरेलले आफूलाई मतदान गर्न १ घन्टा ४ मिनेट लागेको बताएका छन्। जारी ११औं महाधिवेशन स्थलमा बुधबार राति पत्रकारहरूसँग कुरा गर्दै उनले उक्त जानकारी दिएका हुन्।
मतदान किन ढिला भइरहेको छ भन्ने प्रश्नको जबाफमा उनले समूह समूहमा बाँडिएका धेरै उम्मेदवारलाई एकैचोटि भोट हाल्नुपरेकाले ढिलो भएको बताए।
पोखरेलले आफ्ना प्रतिद्वन्द्वी केपी शर्मा ओली सँगसँगै बुधबार बिहानै मतदान गरेका थिए। उनीहरूले भोट हालेलगत्तै प्राविधिकहरूसँग कुरा गर्दा ओली र पोखरेल दुवैलाई मतदान सक्न करिब ४० मिनेट लागेको बताएका थिए। यसबारे दुवैको औपचारिक भनाइ आएको थिएन।
राति महाधिवेशन स्थल आएका पोखरेलले पत्रकारहरूसँगको कुराकानीमा आफूलाई भोट हाल्न लागेको समयबारे जानकारी दिए।