शुक्रवार, आश्विन १६ गते २०८३

एमालेको १९ सदस्यीय पदाधिकारीमा एक जना मात्रै महिला निर्वाचित

बिहिवार , पौष ३, २०८२

काठमाडौं । नेकपा (एमाले)को १९ सदस्यीय पदाधिकारीमा एक जना मात्रै महिला निर्वाचित भएका छन् ।

एमाले केन्द्रीय निर्वाचन आयोगले बिहीबार सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार, सचिवमा पद्मा अर्याल निर्वाचित भएकी हुन् । उनले १ हजार ५३० मत पाइन् । एमाले सचिवमा २० जनाले प्रतिस्पर्धा गरेका थिए । जसमा अर्याल दोस्रो नम्बरमा रहँदै सचिव निर्वाचित भएकी हुन् । सचिवमा तीन जना महिलाले प्रतिस्पर्धा गरेका थिए । रचना खड्का र पेम्बा लामा पराजित भए । खड्काले ८७७ र पेम्बाले ४९३ मत पाइन् । एमाले सचिवमा १ हजार १०८ मत पाउनेसम्मका नौ उम्मेदवार निर्वाचत भए ।

सचिवमा अर्यालसँगै महेश बस्नेत (१५४४), छविलाल विश्वकर्मा (१५०६), शेरधन राई (१५०३), हिक्मतकुमार कार्की (१३३७), खगराज अधिकारी (१२३१), यामलाल कँडेल (११८५), राजन भट्टराई (११८१) र भानुभक्त ढकाल (११०८) निर्वाचित भएका छन् । एमाले पदाधिकारीमा महिलाले प्रतिस्पर्धा गरेको अर्को पद थियो, उपाध्यक्ष । एमाले उपाध्यक्षका लागि प्रतिस्पर्धा गरेकी बिन्दा पाण्डे पराजित भइन् । उनले ९२१ मत पाइन् ।

एमाले उपाध्यक्षका ५ पदमा ११ जनाले उम्मेदवारी दिएका थिए । उपाध्यक्षमा १ हजार १३७ मतसम्म पाउने उम्मेदवार निर्वाचित भए । उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ (१७३७), विष्णुप्रसाद पौडेल (१६७५), रामबहादुर थापा बादल (१५१६) र गोकर्णराज विष्ट (१३६८) निर्वाचित भए ।

एमालेको अध्यक्ष, महासचिव र उपमहासचिवमा महिलाको उम्मेदवारी परेको थिएन । अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल फेरि निर्वाचित भएका छन् ।

त्यस्तै, उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई निर्वाचित भए । एमाले विधानमा कम्तिमा एक जना पदाधिकारी महिला हुनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार