काठमाडौँ । नेकपा एमालेका नेता काशिनाथ अधिकारीले राजनीतिबाट बिदा लिएको घोषण गरेका हुन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले लामो राजनीतिक जीवनमा भएका भुलचुकहरूप्रति सम्बन्धित सबैसँग क्षमा माग्दै राजनीतिबाट बिदा लिएको घोषणा गरेका हुन् ।
६६ वर्षीय अधिकारीले ५० वर्षको राजनीतिक जीवनमा ४४ वर्ष पूर्णकालीन भएर काम गरे । उनले आफ्नो फेसबुक स्टाटसमा भनेका छन्, 'जति दिन काम गरेँ, पूरा मनले गरेँ । इमान, निष्ठा र समर्पणका साथ गरेँ । तन, मन र धनसमेत दिएर नि:सर्त तथा नि:स्वार्थ रूपमा गरेँ । म ल्याङल्याङे कार्यशैलीको विरोधी हुँ, जसरी पनि जिम्मा पूरा गर्ने मेरो कार्यशैली रह्यो ।'
नेकपा(एमाले)मा लगातार ३३ वर्ष केन्द्रीय सदस्य भएर काम गरेका अधिकारीले आफू म कहिल्यै नेता नभएको बताएका छन् । उनले आफू समाज बदल्न हिँडेको वास्तबिक झोले कार्यकर्ता भएर काम गरेको पनि उल्लेख गरेका छन् ।
उनले भनेका छन्, 'मैले कहिल्यै पनि पद र अवसरका लागि मरिहत्ते गरिनँ । सपना असल कम्युनिस्ट बन्ने थियो तर सबै मानकहरू पूरा गर्न सकिनँ । अब पार्टीका कुनै पनि कमिटी र निकायमा रहने छैन । साधारण सदस्य रहेर पार्टी, समाज र देशका हितमा यथासम्भव काम गरिरहनेछु । गुनासो गरेर होइन, नेतृत्वप्रति आभार र धन्यवाद व्यक्त गरेर, खुसीले, ६६ वर्षको उमेरमा सक्रिय राजनीतिबाट बिदा भएको छु ।'