काठमाडौं । मोरङको सीमावर्ती क्षेत्रमा प्रहरीले गोली चलाएर गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
मोरङको जहदा गाउँपालिका–२ तारिगामास्थित नेपाल–भारत सीमा नजिक प्रहरीले गए राति एक राउन्ड हवाई फायर गरी ३ सय ३० किलोग्राम गाँजा नियन्त्रणमा लिएको हो । गाँजा सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
नेपालबाट भारततर्फ गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक सरोज खनालको नेतृत्वमा गएको टोलीले राति करिब ११ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिने खोजेको थियो । टाउकोमा गाँजाको बोरा बोकेर जाँदै गरेको अवस्थामा प्रहरीलाई देख्ने वितिक्कै गाँजाका बोराहरू फालेर भाग्न खोजेपछि प्रहरीले चाइनिज पेस्तोलबाट एक राउन्ड हवाई फायर गरेको थियो ।
प्रहरीले भारतको अररिया चन्दामोहनका २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खानलाई पक्राउ गरेको छ । दुवै जनालाई बरामद गाँजासहित जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालले जानकारी दिएका छन् ।
यसअघि पनि सीमा क्षेत्रमा एम्बुलेन्स, स्कारपियो लगायतका सवारीबाट गाँजा तस्करी हुँदै आएको प्रहरीको भनाइ छ ।