शुक्रवार, आश्विन १६ गते २०८३

रवि र बालेनबाट किन अलग्गिए कुलमान ?

सोमवार , पौष १४, २०८२

काठमाडौं । उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच सहकार्य नहुने भएको छ ।

आइतबार राती रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उनेपाका संरक्षक कुलमान घिसिङबीच भएको वार्ता सहमतिमा नपुगेको एक नेताले जानकारी दिएका छन् । ती नेताले भने, ‘अपमानजनक शक्ति वाँडफाँटको प्रस्ताव उहाँहरूले राख्नुभयो, २० प्रतिशतभन्दा पनि कम दिएर मिलौँ पो भन्नुभयो त । यो भनेको त हामीमाथि अपमानजनक व्यवहार भयो ।’

सो प्रस्तावलाई कुलमान घिसिङले अस्वीकार गरेका थिए । आइतबार रातिको बैठकमा सहमति नजुटेपछि सोमबार बिहान निर्णायक छलफल गर्ने भनिए पनि रवि र बालेनले अहिलेसम्म कुनै छलफल नगरेको समेत ती नेताले जानकारी दिएका छन् । रास्वापसँग एकताको प्रक्रिया अगाडि नबढ्ने देखिएपछि घिसिङसहित उनेपाका नेताहरू समानुपातिक उम्मेदवार टुंगो लगाउन जुटेका छन् ।

उज्यालो नेपाल पार्टीका नेता जीतराम वाइबाले भने, ‘अब हामी छुट्टै अगाडि बढ्ने भयौँ, समानुपातिक सूची तयार पार्दैछौँ, अब हामी सूची छुट्टै पेस गर्न लागेका छौँ ।’ बालेनका विश्वासपात्र मध्येका एक नेताले आइतबारको वार्तामा कुलमान भित्र्याउन हदैसम्मको लचक भए पनि रवि लामिछाने तयार नभएको बताएका छन् ।

ती नेताले भने, ‘हिजोको वार्तामा बालेनजी र महानगरका साथीहरूले कुलमानलाई ल्याउनै पर्ने बताउनु भयो, तर, रास्वपाका साथीहरूले त्यो चाहनुभएको जस्तो देखिएन् । यदि बालेनजीकै जस्तो त्यही इच्छाशक्ति रास्वपाबाट व्यक्त भए कुलमानजीलाई मिलाएर लैजान गाह्रो छैन् ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार