काठमाडौं । जेनजी आन्दोलनमा बल प्रयोग गर्न आदेश नदिएको तत्कालीन गृहमन्त्री रमेश लेखकले बताएका छन् । सोमबार जेनजी आन्दोलन जाँचबुझ आयोगसमक्ष बयान दिँदैन तत्कालीन गृहमन्त्री लेखकले बल प्रयोग गर्न आदेश नदिएको बताएका छन् ।
आयोगलाई बुझाएको लिखित बयानमा लेखकले भनेका छन्, ‘गृहमन्त्रीलाई कुनै पनि कानूनले बल प्रयोग सम्बन्धमा निर्देशन दिने अधिकार दिएको छैन् । त्यस्तो कुनै आदेश मैले दिएको पनि छैन् ।’ बल प्रयोगका लागि लिखित वा मौखिक आदेश दिने अधिकार गृहमन्त्रीलाई नभएको उनले उल्लेख गरेका छन् । व्यवहारिक रुपले पनि आदेश दिन नमिल्ने गरेको उनको भनाइ छ । बल प्रयोगका विषयमा फिल्डमा खटिएका सुरक्षा निकायले नै विश्लेषण गर्ने उनको भनाइ छ । यसमा गृहमन्त्री वा प्रधानमन्त्रीले आदेश नदिने गरेको उनले बयानमा उल्लेख गरेका छन् ।
तत्कालीन गृहमन्त्री लेखकले बयानमा भनेका छन्, ‘प्रदर्शनहरूमा गृहमन्त्रीले बल प्रयोग गर्नेबारे कुनै लिखित र मौखिक आदेश दिने प्रश्न नै उठ्दैन । न त त्यस्तो कुनै कानूनी व्यवस्था नै छ, सरकारको राजनीतिक नेतृत्व गरिरहेको व्यक्तिलाई बल प्रयोग गर्ने, नगर्ने वा कति गर्ने भन्ने विषयको न त कानूनी जिम्मेवारी छ, न त यसबारे ज्ञान हुन्छ, न त व्यवहारतः त्यस्तो आदेश दिने कुरा हुन्छ । न त त्यस्तो कुनै आदेश नै दिइएको थियो ।’
लेखकले भनेका छन्, ‘प्रधानमन्त्री वा मन्त्रीले कसैलाई यति बल प्रयोग गर, यसरी गर भन्ने कुरा पनि होइन, प्रदर्शनका वेला शान्ति सुरक्षा कायम गर्ने क्रममा कहाँनेर के अवस्था र आवश्यकता पर्छ, प्रदर्शनलाई कसरी नियन्त्रण गर्ने, कति बल प्रयोग गर्ने, कसरी गर्ने, कुन अवस्थामा बल प्रयोग गर्ने भन्ने विषय तत्कालीन अवस्थामा खटिएको सुरक्षा निकायले तत्कालीन परिस्थिति तथा बस्तुगत आधारमा विश्लेषण गरि निर्धाण गर्ने हो ।’
यसबारे कानूनले पनि सुरक्षा निकाय र स्थानीय स्तरमा तोकिएका पदाधिकारीलाई नै निर्णय गर्ने अधिकार दिएको लेखकले बयानमा उल्लेख गरेका छन् ।