शुक्रवार, आश्विन १६ गते २०८३

नौ दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूची

सोमवार , पौष १४, २०८२

काठमाडौं । आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि सोमबार साँझ ५ बजेसम्म ९ दलले समानुपातिक उम्मेदवारको सूची बुझाएको छ ।

निर्वाचन आयोगका अनुसार, ३ दलले आइतबार र ६ दलले सोमबार समानुपातिकको बन्दसूची बुझाएका हुन् । आइतबार नेपाल मजदूर किसान पार्टी (नेमकिपा), नेपाल लोकतान्त्रिक पार्टी र राष्ट्रिय जनमोर्चाले बन्दसूची बुझाएका थिए । नेमकिपा र जनमोर्चाले सबै ११० सीटका लागि उम्मेदवारको सूची बुझाएको थियो । लोकतान्त्रिक पार्टीले भने १२ जनाको नाम बुझाएको थियो ।

सोमबार बिहानै जनप्रिय लोकतान्त्रिक पार्टीले १२ जनाको नाम दिएको थियो । त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) र गतिशील लोकतान्त्रिक पार्टीले ११ जना उम्मेदवारको नाम बुझाएको हो । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले १०१ जनाको नाम बुझाएको निर्वाचन आयोगले जनाएको छ । यसैगरी, समावेशी समाजवादी पार्टीले ३१ र समावेशी समाजवादी पार्टी नेपालले १२ जना उम्मेदवारको सूची बुझाएको छ ।

निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको सूची बुझाउने म्याद सोमबारसम्म तोकेको छ । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्यनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका दलले आजै समानुपातिक उम्मेदवारको सूची बुझाउन लागेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार