काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, काठमाडौँका मेयर बालेन्द्र साह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच सहमति भएको छ।
आगामी निर्वाचनमा सँगै जाने गरी सहमति भएको जेजनी अगुवा एवं हामी नेपालका संयोजक सुदन गुरुङले बताए। ‘मैले कुलमान, बालेन र रबिलाई मिलाएरै छाडे’, उनको दाबी छ।
तीनै जनालाई मिलाउन पाउँदा खुशी लागेको गुरुङले बताएका छन्। केही समयमा नै रवि, बालेन र कुलमानले नै सम्झौतापत्र सार्वजनिक गर्ने गुरुङले बताएका छन्।
‘सहमतिका सबै कुरा मैले भन्न मिल्दैन। केहीबेरमा उहाँहरू नै सार्वजनिक गर्नुहुन्छ,’ उनले भने, ‘कुलमान पनि रास्वपाबाटै लड्ने भइसक्नुभयो।’ घिसिङलाई पार्टीको उपसभापति बनाउननेगरी सहमति भएको हो ।
त्यस्तै, १८ जना समानुपातिकमा कुलमान घिसिङको टिमबाट समावेश हुने पनि सहमति भएको छ । पार्टी सभापति रवि र प्रधानमन्त्रीको उम्मेदवार बालेन हुनेगरी यसअघि नै सहमति भइसकेको थियो । उक्त सहमतिमा असन्तुष्ट देखिएका कुलमानसँग पटकपटक छलफल भएको थियो । सोमबार काठमाडौंमा उनीहरूबीच पुन भएको छलफलमा सहमति जुटेको हो ।