शुक्रवार, आश्विन १६ गते २०८३

रविको चुनाव क्षेत्र रहेको चितवनबाट समानुपातिक सूचीमा २१ जना

मंगलवार , पौष १५, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार राति ढिलो गरी समानुपातिकको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । बालेन साह र कुलमान घिसिङसँग एकीकरण गरेपछि सूची बुझाउन ढिला भएको थियो ।

तीन समूहमा भागबण्डा गरेर रास्वपाले ११० जनाको सूची बुझाएको हो । तर रास्वपाको सूचीमा एउटै जिल्लाबाट २१ जनाको नाम समावेश गरिएको छ । रास्वपाका सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र समेत रहेको चितवनबाट २१ जनाको नाम बन्दसूचीमा समावेश गरिएको हो । आदिवासी जनजातिमा ५ जना र खस आर्यमा १६ जनाको नाम समावेश गरिएको छ । आदिवासी जनजाति समूहमा रास्वपाले ३२ जनाको नाम समावेश गरेको छ ।

डा. मनोहर प्रधान, विश्व राई, धर्मलाल तामाङ, टासी लाक्पा शेर्पा र सुदेश गुरुङ पनि छन् । उनीहरू सबै चितवनका हुन् । खस आर्य समूहमा ३२ जनाको नाम समावेश छ । तीमध्ये चितवनबाट १६ जनाको नाम समावेश छ । यो भनेको खस आर्य समूहको ५० प्रतिशत हो । १६ जनामध्ये ८ जना पुरुष र ८ जना महिला रहेका छन् ।

चितवनबाट खस आर्यमा सचिन ढकाल, सुदिप ढकाल, अनुपकुमार उपाध्याय, गोविन्द नारायण, दुर्गाबहादुर घिमिरे, जनक न्यौपाने, पवन शाही र टीकाराम दाहाल छन् । उपाध्याय कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीका अध्यक्ष पनि हुन् । उनको नाम कुलमानको कोटाबाट समावेश गरिएको हो ।

यस्तै खस आर्य महिलामा विदुषी राणा, श्रद्धा कुँवर, मञ्जु भुसाल, रचना खतिवडा क्षेत्री, सिर्जना वली, सीतादेवी पाण्डे, सरला लामिछाने र प्रभा ढकाल छन् । रास्वपा अध्यक्ष लामिछाने गत निर्वाचनमा चितवन–२ बाट निर्वाचित भएका थिए ।

त्यस्तै, केन्द्रीय सदस्य हरि ढकाल चिवतन–१ बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार