काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीचको एकतापछि उपेन्द्र यादव नेतृत्वको दल मधेसमा सबैभन्दा ठूलो बनेको छ ।
जसपा र लोसपाले पुस १३ गते एकताको सहमति गरेपछि मधेस प्रदेश सभामा यादव नेतृत्वको दल सबैभन्दा ठूलो हुने अवस्था सिर्जना भएको हो । यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच पार्टी एकताको सहमति भए पनि एकीकृत पार्टीको नाम र संगठनात्मक संरचनाबारे भने निर्णय भइसकेको छैन् । १०७ सदस्य मधेश प्रदेशसभामा यसअघि २४ सांसदसहित सबैभन्दा ठूलो दल नेकपा एमाले थियो ।
एमालेपछि नेपाली कांग्रेस २२ सांसदसहित दोस्रो ठूलो दल थियो । मधेस सभामा जसपा नेपालका १८ र लोसपाका ८ जना सांसद छन् । यी दुई दलका सांसद जोड्दा यहाँ अब एकीकृत दलको सांसद संख्या २६ हुनेछ । मधेस सभामा जनमतका १३, नेकपा माओवादी केन्द्रका ९, नेकपा एकीकृत समाजवादीका ७ सांसद छन् ।
यी दुई दल एकीकृत भए पनि हाल फरक फरक दलबाटै प्रतिनिधित्व गर्दै आएका छन् । यस्तै राप्रपा नेपाल, नागरिक उन्मुक्ति पार्टी र नेपाल सङ्घीय समाजवादी पार्टीको मधेसमा एक–एक जना सांसद छन् ।
हाल मधेसको मुख्यमन्त्री कांग्रेसका कृष्णप्रसाद यादव छ । उनलाई एमालेबाहेकका दलले मुख्यमन्त्री बनाएका हुन् ।