काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक मर्मत ढिलाइ गरेमा निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने बताएका छन् ।
समयमै काम सम्पन्न नगरेमा पेनाल्टी तिर्नुपर्ने व्यवस्था लागू गरिने र आवश्यक परे ठेक्का नै रद्द गर्ने सम्मको उनले चेतावनी दिएका छन् । मंगलबार सडक बोर्ड नेपालको २३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री घिसिङले तोकिएको समयसीमाभित्र सडक निर्माण तथा मर्मत नसक्ने निर्माण व्यवसायीप्रति सरकार अब सहनशील नहुने बताएका छन् ।
उनले भने, ‘कम रकममा ठेक्का लिएर समयमै काम नगर्ने र बारम्बार ढिलाइ गर्ने कतिपय निर्माण व्यवसायीको हामीले ठेक्का रद्द गरेका छौं । यो सरकारको रहर होइन, बाध्यता हो । अब सडक मर्मतमा ढिलाइ गरिए पेनाल्टी तिर्नुपर्ने अवस्था आउँछ ।’ देशभर सुधार गर्नुपर्ने सडकको सङ्ख्या अत्यधिक रहे पनि सीमित बजेटका कारण सबै सडक समयमै मर्मतसम्भार गर्न नसकिएको उनको भनाइ छ ।
उनले भने, ‘सङ्घ, प्रदेश र स्थानीय तहबाट सडक मर्मतका लागि निरन्तर माग आइरहेको छ, तर बजेटको सीमितताले गर्दा सबै माग तत्काल सम्बोधन गर्न सकिरहेका छैनौं ।’
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले सडक निर्माण मात्र विकासको सूचक नभएको स्पष्ट पारेका छन् । उनले सडक उपभोग योग्य नबनेसम्म विकास अधुरो रहने उल्लेख गर्दै भने, ‘विकास भनेको सडक बनाएर मात्रै हुँदैन । बनेको सडकमा सवारी साधन सहज रूपमा चल्नुपर्यो । बिग्रेका सडक समयमै मर्मत गर्नु आजको सबैभन्दा ठूलो आवश्यकता हो ।’
सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेशबहादुर केसीले समयमै मर्मतसम्भार नगरिँदा सडकको लागत तीनदेखि चार गुणासम्म बढ्ने गरेको तथ्य औंल्याएका छन् ।
सडक विभागका महानिर्देशक डा. विजय जैसीले सडकलाई विकासको मेरुदण्डका रूपमा व्याख्या गर्दै आवश्यक बजेट विनियोजन गरेर समयमै मर्मतसम्भार गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।