शुक्रवार, आश्विन १६ गते २०८३

समानुपातिक सूचीमा न मेरा भान्जा छन् न त ससुरा : ऊर्जामन्त्री घिसिङ

बुधवार , पौष १६, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पार्टी एकताको सहमति गरेका उज्यालो नेपाल पार्टीका संयोजक कुलमान घिसिङले समानुपातिक उम्मेदवारको सूचीमा पारिएका कोही पनि आफ्ना भान्जा र ससुरा नभएको स्पष्टीकरण दिएका छन् ।

आगामी प्रतिनिधि सभा निर्वाचनका लागि पार्टी एकतापछि निर्वाचन आयोगमा पेस समानुपातिकतर्फ संयुक्त बन्दसूचीमा ऊर्जामन्त्रीसमेत रहेका घिसिङका भान्जा र ससुरा पनि पारिएको भन्दै व्यापक आलोचना भएपछि बुधबार उनले सामाजिक सञ्जालमार्फत खण्डन गरेका हुन् । साथै उनले आफ्ना भान्जा र ससुरा भनिएका दुवै व्यक्ति आफ्नो पार्टीतर्फका मानिस पनि नभएको बताएका छन् ।

कुलमानले लेखेका छन्, ‘प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ बुझाइएका केही उम्मेदवारलाई मसँग जोडेर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा फैलाइँदै आएका असत्य, भ्रामक र नियोजित टिकाटिप्पणीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,  ‘समाचार तथा चर्चामा ‘भान्जा’ भनेर उल्लेख गरिएका व्यक्ति मेरो भान्जा होइनन्, साथै उनी उज्यालो नेपाल पार्टीको तर्फबाट नभई अर्कै टिमबाट सिफारिस भएका व्यक्ति हुन् ।

उनले थप लेखेका छन्, ‘त्यसैगरी समानुपातिक सूचीमा रहेका र मेरो ‘ससुरा’ भनेर प्रचार गरिएका व्यक्ति पनि मेरो आफ्नो ससुरा नभएको स्पष्ट पार्न चाहन्छु ।’ रास्वपाको वरिष्ठ उपसभापति बन्ने गरी यसका सभापति रवि लामिछानेसँग एकता सहमति गरेका कुलमानले समानुपातिक उम्मेदवारको सूची पार्टीको विधि, मापदण्ड र सामूहिक निर्णय प्रक्रियाबाट तयार पारिएको जिकिर गरेका गरेका छन् ।

यद्यपि त्यसमा देखिएका प्राविधिक त्रुटि निर्वाचन आयोगले तोकेको समयावधिभित्र सच्याइने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् । उनले लेखेका छन्, म आज पनि पारदर्शिता, इमानदारी र जनताप्रतिको जवाफदेहितामा दृढ छु । त्यसैले यस्ता भ्रामक समाचार र टिकाटिप्पणीको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछु ।’

यस्तो छ उनको भनाइ–

प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ बुझाइएका केही उम्मेदवारलाई मसँग जोडेर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा फैलाइँदै आएका असत्य, भ्रामक र नियोजित टिकाटिप्पणीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

समाचार तथा चर्चामा ‘भान्जा’ भनेर उल्लेख गरिएका व्यक्ति मेरो भान्जा होइनन्, साथै उनी उज्यालो नेपाल पार्टीको तर्फबाट नभई अर्कै टिमबाट सिफारिस भएका व्यक्ति हुन्। त्यसैगरी समानुपातिक सूचीमा रहेका र मेरो ‘ससुरा’ भनेर प्रचार गरिएका व्यक्ति पनि मेरो आफ्नो ससुरा नभएको स्पष्ट पार्न चाहन्छु ।

समानुपातिक उम्मेदवारको सूची कुनै व्यक्ति विशेषको चाहना वा दबाबमा होइन, पार्टीको विधि, मापदण्ड र सामूहिक निर्णय प्रक्रियाबाट तयार गरिएको हो । म सार्वजनिक जीवनमा प्रवेश गरेदेखि नै नातावाद, कृपावाद र स्वार्थको राजनीतिविरुद्ध निरन्तर उभिँदै आएको छु । त्यही इमानदार यात्रालाई कमजोर पार्ने उद्देश्यले तथ्य नबुझी फैलाइने यस्ता नियोजित हल्ला र आरोपहरू दुःखद छन् ।

राजनीतिमा असहमति हुन सक्छ, तर झुट र भ्रम फैलाएर कसैको बदनाम गराउने प्रयास आपत्तिजनक छ । साथै बन्दसूचीमा देखिएका प्राविधिक त्रुटिहरू निर्वाचन आयोगले तोकेको समयावधिभित्र सच्याइने प्रतिबद्धता समेत व्यक्त गर्दछु । म आज पनि पारदर्शिता, इमानदारी र जनताप्रतिको जवाफदेहितामा दृढ छु । त्यसैले यस्ता भ्रामक समाचार र टिकाटिप्पणीको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछु ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार