शुक्रवार, आश्विन १६ गते २०८३

राजेन्द्र लिङ्देन भन्छन्– फागुन २१ को निर्वाचनलाई आन्दोलनको रुपमा उपयोग गर्नुपर्छ

बुधवार , पौष १६, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी फागुन २१ गते तोकिएको निर्वाचनलाई आन्दोलनको रुपमा उपयोग गर्नुपर्ने बताएका छन् ।

राप्रपा नेपालसँगको एकता घोषणासभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । देश जबरजस्त निर्वाचनमा होमिन थालेको उनको आरोप छ । उनले भने, ‘अहिले जबरजस्त मुलुक चुनावतर्फ होमिएको छ । यस्तो बेला हामी राप्रपाका नेता कार्यकर्ताको जिम्मेवारी छ, यो चुनावलाई हामीले आन्दोलनको रुपमा उपयोग गर्नुपर्नेछ, आन्दोलनको एउटा हिस्साको रुपमा हामीले प्रयोग गर्नुपर्ने छ ।’

साथै, उनले फागुन २१ को चुनाव कुनै समाधान नभएको बताएका छन् । लिङ्देनले भने, ‘मैले सबैसँग आग्रह गर्न चाहन्छु, हामीले यो सरकारलाई सबै राजनीतिक शक्तिहरूलाई निरन्तर रुपमा आग्रह गर्‍यौं, आगामी फागुन २१ गतेको चुनाव समस्याको समाधान होइन । अस्ति जुन विद्रोह भयो, त्यो विद्रोह मध्यावधि चुनाव वा ०८४ को चुनावलाई ०८२ मा गर्नका लागि भएको होइन ।’ राजा, राजनीतिक दल, अहिलेको नवयुवा पुस्ता सबैको सर्वपक्षीय सम्मेलनबाट निर्णय गरेर देशलाई निकास दिनुपर्ने बताएका छन् ।

लिङ्देनले भने, ‘हामीले लामो समयदेखि उठाइरहेका विभिन्न विषयलाई सम्बोधन नगरी देशलाई स्थायी शान्ति दिन सकिँदैन । राजा, राजनीतिक दल, अहिलेको नवयुवा पुस्ता सबैको सर्वपक्षीय सम्मेलनबाट, सर्वपक्षीय सहमति निर्माण गरेर, देशलाई निकास दिएर मात्रै चुनाव गर्नुपर्छ भनेर हामीले भन्दै आयौं ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार