शुक्रवार, आश्विन १६ गते २०८३

बर्दघाटको टायल्स उद्योगमा दुई मजदुर मृत फेला

बिहिवार , पौष १७, २०८२

काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको एक टायल्स उद्योगमा दुई जना मजदुर मृत फेला परेका छन् । एक जना नेपाली र एक जना भारतीय मजदुर उद्योगमा मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार मृत फेला पर्नेमा नवलपरासी बर्दघाट नगरपालिका–१३ धनेवाका ४० वर्षीय होमबहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगढ जिल्ला–६६ ग्रामपोस्टका ३० वर्षीय विनोद कुमार रहेका छन् । बुधबार राति ८ बजेदेखि बिहीबार बिहान ८ बजेसम्म ग्यासी फायरमा डिउटीमा खटिएका उनीहरू मृत फेला परेको प्रहरीले जनाएको छ ।

ग्यासी फायरको पोकिङ फ्लोरमा गद्दा ओछ्याएर सुतेको अवस्थामा उनीहरू मृत फेला परेको जानकारी कम्पनीका म्यानेजर रमेश न्यौपानेले बिहान सवा ९ बजे प्रहरीलाई जानकारी गराएका थिए । घटनाबारे जानकारी पाउनेबित्तैकै प्रहरी टोलीले घटनास्थल पुगेको पश्चिम नवलपरासीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुशील घिमिरेले जानकारी दिएका छन् ।

उनका अनुसार बर्दघाट नगरपालिका–१२ कजडैयास्थित टायल उद्योगमा कार्यरत एक जना नेपाली र एक जना भारतीय मजदुर मृत अवस्थामा फेला परेका छन् । घटनास्थलमा मृत फेला परेका दुवै जना मजदुरको शरीरमा कुनै पनि प्रकारको घाउ चोट नदेखिएको उनले बताएका छन् । मृतकका आफन्तले भने घटना शंकास्पद भएको भन्दै उद्योग घेराउ गर्दै प्रदर्शन गरिरहेका छन् ।

उनीहरूले दोषीमाथि छानबिन गरी कारबाही हुनुपर्ने माग राखेका छन् । घटनास्थलमा अहिले ३१ जना प्रहरीको टोली खटेर घटनाबारे अनुसन्धान गरिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार