काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२५ नेपाल र नेपालीका लागि दुःखद बर्ष भएको भन्दै २०२६ लोकतन्त्र र संविधानको पुनरोत्थानको वर्ष बन्नुपर्ने बताएका छन् । ओलीले नेपालमा लोकतन्त्र विस्थापनको ठूलो सिलसिला गम्भीर ढङ्गले शुरू गरिएको भएपनि जनताको सचेतनताले प्रतिगमनकारीले त्यो प्रयासलाई चाहेको ठाउँमा पुर्याउन नसकेको दाबी गरे ।
‘जननिर्वाचित सरकार ढल्नु भनेको देशमा लोकतन्त्र र संविधान ढल्नु हो, जनताको सार्वभौमसत्ता थिचिनु, मिचिनु र ढालिनु हो’, ओलीको भनाइ छ ।
अहिले पनि असंवैधानिक काम भइरहेको भन्दै ओलीले भने, ‘विभिन्न प्रकारका तत्व जम्मा गरेर शक्ति निर्माण गर्न खोजिँदैछ । सर्वोच्चले थुनामा राखेर कारबाही गर्नु भनेका मान्छे जिल्ला र उच्च अदालतबाट छोड्ने काम भएको छ, छोड्नेबित्तिकै तमासा देखिँदै छ ।
अहिलेसम्म निर्वाचनको वातावरण नबनेको र सरकारले वातावरण बनाउने दिशामा काम नगरेको दोहोर्याउँदै ओलीले निर्वाचनका नाममा लोकतान्त्रिक प्रक्रिया दुरूपयोग गरेर लोकतन्त्र मास्ने प्रयास हुनसक्ने खतरा औँल्याए ।