काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव नजिकै आइसकेकाले पार्टीको भित्रको विवाद मिलाउन आफू तयार रहेको बताएका छन् ।
जेनजी आन्दोलनपछि पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापति दिएर आराम गरिरहेका देउवाले कांग्रेस महाधिवेशनलाई लिएर विवाद सुरु भएपछि सक्रियता देखाएका हुन् । शुक्रबार बिहान कांग्रेसका २५ नेता देउवालाई भेट्न महाराजगञ्ज पुगेका थिए । केन्द्रीय सदस्य डिला संग्रौलासहित महाराजगञ्ज पुगेका नेताहरूले नियमित महाधिवेशनमै जोड दिएका थिए ।
विशेष महाधिवेशनले पार्टीमा विभाजन ल्याउने बताउँदै उनीहरूले नियमित महाधिवेशन नै गराउन ध्यानाकर्षण गराएका थिए । उनीहरूसँगको भेटमा सभापति देउवाले पार्टीभित्रको विवाद मिलाउन आफू तयार रहेको बताएका छन् । सभापति देउवाले भने, ‘चुनाव आइरहेको छ, पार्टीभित्रको विवाद मिलाउन तयार छु, निर्वाचन आएको वेलामा एकता भएर जानुपर्छ ।’ उनीहरूले नियमित महाधिवेशन गर्नुपर्नेमा देउवाको ध्यानाकर्षण गराएका थिए ।
उनीहरूले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई पनि भेटेका छन् । दुवै महामन्त्रीसँगको भेटमा पनि नियमित महाधिवेशनमै जोड दिइएको छ । महामन्त्रीले भने आफ्नो माग पनि सम्बोधन हुनुपर्ने बताएका छन् । विशेष महाधिवेशनलाई पनि सम्बोधन हुनुपर्यो भन्ने उनको भनाइ रहेको छ ।
कांग्रेस नेत्री डिला संग्रौलासँगै पुष्पा भुसाल, उदय शम्शेर राणा, अब्दुल सतार, विरमान पाख्रिृन लगायत २५ जना केन्द्रीय सदस्यले सभापति देउवा तथा महामन्त्रीद्वय थापा र शर्मालाई भेटेका हुन् ।