काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले अब पार्टीसँग विशेष महाधिवेशनको विकल्प नरहेको बताएको छ । शुक्रबार अनामनगरमा पत्रकार सम्मेलन गर्दै उनीहरूले अब पार्टीसँग विशेष महाधिवेशनको विकल्प नरहेको बताएका हुन् ।
पत्रकार सम्मेलनमा नेता सुवास पोखरेलले भने– कांग्रेससँग विशेष महाधिवेशनबाहेक अन्य विकल्प रहेन । यो हाम्रो वैधानिक अधिकार हो । विधानको बाध्यकारी व्यवस्था हो ।’ पोखरेलले केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन आह्वान गरोस् भन्ने माग आफूहरूको रहेको बताए । पोखरेलले एकता र विश्वास एकैपटक जगाउन आग्रह गरेका छन् ।
विशेष महाधिवेशन मागकर्ता महाधिवेशन प्रतिनिधिहरू पोखरेल, देवराज चालिसे, प्रमोदहरि गुरागाईं, मनोजमणि आचार्य, नारायणप्रसाद भट्टराईलगायतले केन्द्रीय कार्यसमितिले यही पुस २६ देखि २८ गते नियमित महाधिवेशनको मिति तोके पनि उक्त कार्यतालिकाका कार्यक्रम स्थगित भइसकेको अवस्थामा सो माग गरेका हुन् ।
विधानले तोकेको समयसीमा (२०८२ मङ्सिर) भित्र १५औँ महाधिवेशन गर्न अन्यथा पार्टी विधानको धारा १७ उपधारा ९२० बमोजिम विशेष महाधिवेशन आह्वान गत असोज २९ गते देशभरका दुई हजार ४८८ (५४ प्रतिशत) महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएको उनीहरूले अवगत गराएका छन् ।
साथै उनीहरूले गत भदौ २३ देखि २४ गतेपछिको विशेष राजनीतिक परिस्थितिमा कांग्रेसलाई थप सुदृढ, गतिशील र जनभावनाअनुरुपको बनाउन, समसामयिक नीति निर्माण गर्न तथा नयाँ ऊर्जा र नेतृत्वसहित पार्टी पुनःनिर्माणका लागि विशेष निर्णय गर्न महाधिवेशन अपरिहार्यताबारे निरन्तर आवाज उठाउँदै आएको उल्लेख गरेका हुन् ।