काठमाडौं । आगामी प्रतिनिधि सभा सदस्यका लागि गोरखा–२ बाट मिलन गुरुङ (चक्रे मिलन) उम्मेदवार सिफारिस भएका छन् ।
नेकपा (एमाले)को तर्फबाट गुरुङलाई उम्मेदवार सिफारिस गरिएको हो । उम्मेदवार सिफारिस भएपछि प्रतिक्रिया दिँदै गुरुङले यो निर्णय मेरो व्यक्तिगत इच्छाभन्दा पनि आम जनसमुदाय, विशेषगरी युवा तथा जेनजीको निरन्तर माग र दबाबका कारण लिएको बताए । आफू २०५० सालदेखि एमालेमा सक्रिय रहेको उनको भनाइ छ । समाज सेवासँगै राजनीतिमा योगदान दिन खोजेको उनले बताए । उनले भने, ‘गोरखाली जनताले आफूलाई जिताएर संसद्मा पठाउनेमा ढुक्क रहेको छु ।’
आफूलाई गुण्डा आरोप लगाउने गरेकोमा पनि उनले दुखित भएको प्रतिक्रिया दिए । एक साधारण नागरिकमा रुपमा समाजसेवा गरिरहेको जिकिर गर्दै उनले भने, ‘म समाजको सेवा गर्छु भन्न पनि नपाइने अवस्था बनाइयो ।’ गोरखाका एमालेका युवा नेता एवं युवा संघका केन्द्रीय सदस्य प्रविण अधिकारीले गुरुङलाई साझा उम्मेदवारका रुपमा हेरिएको बताए ।
गुरुङ निस्वार्थ रूपमा राजनीति र समाजसेवाका लागि अघि बढेको बताउँदै अधिकारीले भने, ‘आज गोरखाका आम युवा मात्र होइन, जेनजीको समेत साझा उम्मेदवारका रूपमा मिलन गुरुङलाई हेरिएको छ ।’