काठमाडौं । विशेष महाधिवेशनलाई लिएर विवाद चर्किएको वेला नेपाली कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठक जारी रहेको छ ।
शुक्रबार अपराह्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको हो । महाधिवेशनलाई लिएर चर्किरहेको विवादबीच यो बैठकलाई महत्त्वका साथ हेरिएको छ । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यसअघि संयुक्त वक्तव्य जारी गर्दै नियमित महाधिवेशनको कार्यतालिका स्थगित गरेको घोषणा गरेका थिए । उनीहरूले विशेष महाधिवेशनको विकल्प अघि सारेपछि पार्टीभित्र तनाव बढेको छ ।
यसै सन्दर्भमा सभापति शेरबहादुर देउवा पक्षबाट कार्यसम्पादन समिति बैठक बोलाइएको हो । बैठकअघि दुवै पक्षका नेताहरूले आन्तरिक छलफल गरेका थिए । संस्थापन पक्षले महामन्त्रीहरूको निर्णयलाई व्यक्तिगत भनेर आलोचना गरेको छ भने विशेष महाधिवेशन पक्षधरहरूले विधान रक्षा गर्न विशेष अधिवेशन आवश्यक रहेको तर्क गरिरहेका छन् ।
बैठकमा महाधिवेशनको कार्यतालिका, विशेष महाधिवेशनको सम्भावना र समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।