काठमाडौँ । टीकापुर हत्याकाण्डमा सर्वोच्च अदालतवाट दोषी ठहर भए पनि राष्ट्रपतिबाट सजाय माफी पाएका रेशम चौधरीविरुद्ध परेको रिटमा आज पेशी तोकिएको छ ।
सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइका लागि सोमबार पेशी तोकिएको हो । न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले १५ जेठ २०८० मा गणतन्त्र दिवसको दिन पारेर चौधरीलाई तोकिएको फैसला भुक्तान नभई बाँकी सजाय माफी दिएका थिए । त्यसविरुद्ध टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहरा पत्नी शारदा बोहरा कडायतले रिट दायर गरेकी थिइन् ।
पुष्पकमल दाहाल नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई आममाफी दिँदै कारागारबाट रिहा गरेपछि उनले सर्वोच्चमा रिट दायर गरेको थियो । टीकापुर घटनाका मुख्य योजनाकारका रूपमा रेशमविरुद्ध कैलाली जिल्ला, दिपायल उच्च अदालतले गरेको जन्मकैदको फैसलालाई सर्वोच्च अदालतले २०८० जेठ २ गते सदर गरेको थियो।