काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको स्थानहद फुकुवा भएको छ ।
जेनजी आन्दोलन जाँचबुझ आयोगले छानबिन सुरु गरेपछि पूर्वप्रधानमन्त्री ओलीसहित तत्कालीन अधिकारीहरूलाई स्थानहद लगाएको थियो । अरु सबैको स्थानहद फुकुवा भए पनि ओलीको बाँकी थियो । आइतबार जाँचबुझ आयोगले ओलीसँग बयान लिएको थियो । त्यससँगै उनको स्थानहद फुकुवा गरिएको जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए ।
जाँचबुझ आयोगले सोमबार प्रेस विज्ञप्ति जारी गरेर स्थानहदको औचित्य सकिएको जनाएको छ । आयोगका प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘घटनाका सम्बन्धमा प्रधानमन्त्रीको हैसियतले उहाँले गरेका कामकारबाही सम्बन्धमा यस आयोगबाट उहाँसँग सोधपुछ लगायतका बुझ्ने कार्य सम्पन्न भइसकेकाले उहाँको विदेश भ्रमण र उपत्यका छाड्न नपाइने निर्णयको समाप्त भएकाले फुकुवा गरिदिएको छ ।’
आयोगले गत असोज १२ मा अनुसन्धानका लागि भनेर पूर्व प्रधानमन्त्री ओलीलाई विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको थियो । त्यस्तै, आयोगको स्वीकृति विना काठमाडौं उपत्यका छाड्न पनि नपाउने निर्णय गरेको थियो । गत भदौ २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोगले असोज १२ गते पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकसहित उच्च अधिकारीहरूलाई स्थान हद लगाएको थियो ।
पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा पनि स्थान हदमा थपिएका थिए । कात्तिक २६ गते आईजीपीबाट अवकास भए लगत्तै चन्द्रकुवेर खापुङलाई पनि स्थान हद लगाएको थियो ।
पूर्व गृहसचिव दुवाडी, पूर्व आईजीपी खापुङ र पूर्व प्रमुख जिल्ला अधिकारी रिजालको स्थान हद फुकुवा गर्ने निर्णय पुस ७ गते भएको थियो । त्यस्तै, पूर्व गृहमन्त्री लेखककको स्थान हद पुस १७ मा फुकुवा गरेको थियो ।