काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतबाट फर्किँदै छन् भने नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा देउवा दिल्ली प्रस्थान गरेकी छन् ।
भारतको दिल्लीमा नेकपानिकट प्रवासी नेपालीको ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’का लागि प्रचण्ड आइतबार दिल्ली प्रस्थान गरेका थिए । उनले आज दिउँसो सभालाई सम्बोधन गरेका छन् । भारत भ्रमणका क्रममा प्रचण्डले आइतबार साँझ भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभलसँग भेटवार्ता गरेका थिए । सोमबार बिहान पनि सुरक्षा अधिकारी र राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका छन् । उनी आज साँझ स्वदेश फर्किँदै छन् ।
त्यस्तै, कांग्रेस नेत्री आरजु राणा सोमबार अपराह्न २ बजे काठमाडौंबाट दिल्ली प्रस्थान गरेकी छन् । उनको भारत भ्रमणका विषयमा खुलाइएको छैन् । उनले सुरक्षा अधिकारी र राजनीति नेतृत्वसँग भेटवार्ता गर्न सक्ने जनाइएको छ । यसअघि आइतबार प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान दुर्गा सुवेदी पनि दिल्ली गएका थिए । उनी उपचारका लागि दिल्ली गएका हुन् ।
त्यस्तै, गत साता पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि दिल्ली पुगेका थिए । भट्टराईले सुरक्षा अधिकारी र राजनीतिक नेतृत्वसँग छलफल गरेका थिए ।