शुक्रवार, आश्विन १६ गते २०८३

विकसित राजनीतिक घटनाक्रमबारे दिल्लीमा भारतीय मित्रहरूसँग समीक्षा भयो- प्रचण्ड

सोमवार , पौष २१, २०८२

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा विकसित राजनीतिक घटनाक्रमबारे दिल्लीमा अनौपचारिक संवाद भएको बताएका छन् ।

नेपाली समाज भारतको आयोजनामा सोमबार दिल्लीमा भएको कार्यक्रममा प्रचण्डले भारतीय नेताहरूसँग अनौपचारिक छलफल भएको बताएका हुन् ।

‘यो पटक अचानक १ दिन अगाडि मात्र यो कार्यक्रम गर्ने निर्देशन जारी गरियो र यसको पछाडि देश- विदेशमा विकसित राजनीतिक घटनाक्रम अनि पछिल्लो पटक प्रधानमन्त्रीको हैसियतले नेपाल भारत–सम्बन्धमा गरेका कतिपय महत्त्वपूर्ण निर्णयको अनौपचारिक ढंगले भारतीय मित्रहरूसँग समीक्षा गर्ने थियो’, प्रचण्डले भने, ‘विकसित घटनाक्रमबारे पनि सल्लाह सुझाव संकलन गर्ने उद्देश्य पनि थियो, यो भ्रमणको । आएको बेला तपाईंहरूसँग भेटघाट गर्ने पनि उद्देश्य थियो । आज त्यो उद्देश्य पूरा भएको छ ।’

प्रचण्डले भारतमा को–कोसँग संवाद भएको भन्ने चाहिँ खुलाएनन् । ‘केही विकसित राजनीतिक घटनाक्रमबारे अनौपचारिक ढंगले कतिपय भारतीय मित्रहरूसँग मेरो समीक्षा भएको छ, हिजोदेखि आजसम्म’ प्रचण्डले भने ।

छोरी गंगासहित प्रचण्ड आइतबार नयाँ दिल्ली पुगेका थिए । प्रचण्डले भारतीय संस्थापनका केही नेतासँग अनौपचारिक संवाद गरेको स्रोतले बतायो ।

शुरूमा प्रचण्डको कार्यक्रमलाई नितान्त: प्रवासी नेपालीसँगको अन्तरक्रिया रहेको दाबी नेकपाले गरेको थियो । तर, हतारमा सूचना दिएर कार्यक्रम राख्न लागिएको प्रचण्डले स्वीकार गरे ।

प्रचण्डले भदौ २३–२४ को घटनापछिको सहजीकरणका लागि आफूहरूले भूमिका खेलेको बताए ।   ‘राष्ट्रपतिले परिस्थितिको गम्भीरतालाई हेरेर प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा संसद् विघटन भयो, त्यो परिस्थितिको सहजीकरण गर्ने मौका मिल्यो’, प्रचण्डले भने ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार