काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफूले निर्वाचनमा उम्मेदवारी दिनेबारे कुनै निर्णय नगरेको स्पष्ट पारेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवारी दिने चर्चा भइरहेका बेला उनले आफूले अहिलेसम्म सो विषयमा निर्णय नलिएको स्पष्टीकरण दिएका हुन् । बुधबार नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री खरेलले आफू र वर्तमान सरकारको सम्पूर्ण ध्यान चुनावमा रहेको पनि बताएका छन् ।
उनले भने, ‘म यहाँहरुलाई आज स्पष्ट पार्न चाहन्छु–मैले अहिलेसम्म चुनावमा उठने वा नउठने भन्ने केही पनि निर्णय गरेको छैन् । दोस्रो कुरा यहाँहरुलाई म स्पष्ट पार्न चाहन्छु–म आजको दिनसम्म कुनै पनि पार्टीमा प्रवेश गरेको छैन्, गएको छैन् । वार्ता वा छलफल गरेको छैन्, आउँछु पनि भनेको छैन् । जान्छु भनेको छैन् । मैले केही पनि भनेको छैन, । आजको दिन यो मितिसम्म म कुनै पनि पार्टीमा गएको पनि छैन् । चुनाव उठछु वा उठ्दिन केही पनि भनेको छैन् ।’
उनले थपे, ‘र, मेरो अहिले सम्पूर्ण ध्यान यो अन्तरिम सरकारको सम्माननीय प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको ध्यान चुनाव गराउन रहेको छ ।’ आफूले निर्वाचनमा उठ्नका लागि कुनै पनि पार्टीसँग छलफल समेत नगरेको विषयलाई लिएर सञ्चार माध्यमहरूले झुटो समाचार सम्प्रेषण गरेको भन्दै मन्त्री खरेलले असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले भने, ‘तर समाचार अलिकति फरक ढंगले आइरहेको छ । त्यसप्रति मेरो आपत्ति केही पनि छैन् । तर सही समाचार चाहिँ आज म तपाईंहरूमार्फत भन्छु– मैले चुनाव उठ्ने अथवा नउठ्ने निर्णय गरेको छैन् ।’