शुक्रवार, आश्विन १६ गते २०८३

महामन्त्रीद्वयले गरे विशेष महाधिवेशनको आह्वान, कांग्रेसले भन्यो-व्यक्तिले बोलाउने विशेष महाधिवेशन विधान विपरीत हो

बुधवार , पौष २३, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशन आह्वान गरेका छन्। 

महामन्त्रीद्वय थापा र शर्माले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै पुस २७ र २८ गते काठमाडौँको भृकुटीभण्डमा विशेष महाधिवेशन आह्वान गरेका हुन्। महामन्त्रीद्वयले विशेष महाधिवेशनको नारा ‘बदलिएको समयको कांग्रेसका लागि, बदल्नुपर्ने देशका लागि हो’ भन्ने तय गरेका छन्।

पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशन आह्वान गर्न ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी पार्टी कार्यालयमा दर्ता गराएकाले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीलाई सुदृढ बनाउन, जनभावना अनुरुपको नीति निर्माण गर्नका लागि विशेष निर्णय लिनु अपरिहार्य भएको उनीहरुको तर्क छ। 

बहुमत महाधिवेशन प्रतिनिधिहरूद्वारा गरिएको विशेष महाधिवेशनको मागप्रति आफूहरुको ऐक्यबद्धता रहेको भन्दै पुस २८ भित्र विशेष महाधिवेशन गर्नको लागि हस्ताक्षरकर्ता महाधिवेशन प्रतिनिधिको तर्फबाट भएको प्रयास महाधिवेशन प्रतिनिधिको वैधानिक अधिकार भएको महामन्त्रीहरुको जिकिर छ। 

यसैबीच नेपाली कांग्रेसले महामन्त्रीद्वय थापा र शर्माको निर्देशनमा पुस २७ र २८ गतेका लागि घोषणा गरिएको विशेष महाधिवेशन विधान विपरीत भएको बताएको छ।

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा पार्टीको विधानमा कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभएको बताएका हुन्।

‘पार्टीको विधानमा व्यवस्था भए बमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केवल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको छ,’ विज्ञप्तिमा भनिएको छ,  ‘तसर्थ, पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधान विपरीत हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरु, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेश स्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यहरुलाई नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ।’

यस्तै गत मंसिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले १५ औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत् निर्णय गरी पार्टीको विधान बमोजिम महाधिवेशनको प्रकृया अघि बढी सकेको विज्ञप्तिमा उल्लेख छ।  नियमित महाधिवेशनको कार्यतालिका अघि बढिसकेको भन्दै विशेष महाधिवेशन महाधिवेशनको औचित्य मंसिर १५ गतेदेखि नै स्वतः समाप्त भएको विषय  पुस १८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले स्पष्ट गरिसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र माघ ११ को राष्ट्रिय सभा सदस्यको निर्वाचन रहेको भन्दै पार्टीको प्रतिष्ठा र हितलाई ध्यानमा राखी पार्टीका सबै तहका समिति, भ्रातृ तथा शुभेच्छुक संस्था, विदेशस्थित नेपाली जनसम्पर्क समिति, सम्पूर्ण सदस्य, समर्थक र शुभेच्छुकहरूलाई पार्टीका उम्मेदवारहरूलाई विजयी गराउने अभियानमा लाग्न पनि विज्ञप्तिमा आह्वान गरिएको छ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार