शुक्रवार, आश्विन १६ गते २०८३

देउवासँग शेखरले भने– म पार्टी विभाजन भएको हेर्न सक्दिन, विभाजन रोक्नुस्

बिहिवार , पौष २४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन पक्षधरसँग संवाद गरेर सहमतिको वातावरण निर्माण गर्न दवाव बढाएका छन् ।

सभापति शेरबहादुर देउवासँग आजको भेटमा नेता कोइरालाले ‘पार्टीमा को के हुने भन्दा पनि पार्टी एकता जोगाउने’ विषय महत्वपूर्ण हुने भन्दै बृहत्तर सहमतिका लागि पहल गर्न आग्रह गरेका हुन् । महाराजगञ्जस्थित देउवा निवास पुगेर नेता कोइरालाले महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गरिसकेको अवस्थामा सबै पक्षको सम्मान हुनेगरी समाधान खोज्न देउवाको ध्यानाकर्षण गराएका हुन् । देउवासँग शेखरले भने, ‘म कोइराला हुँ । पार्टी विभाजन भएको हेर्न सक्दिन । विभाजनको पीडा तपाईले पनि भोग्नुभएकै छ । के के गर्नुपर्छ गरौं, विभाजन रोकौ ।’

उनले आफ्नालाई कांग्रेसको सभापति बन्ने वा नबन्नेभन्दा पनि कांग्रेस सग्लो रहने वा नरहने भन्ने कुरा महत्वपूर्ण रहेको देउवालाई बताएका छन् । देउवालाई शेखरले भनेका छन्, ‘म भोली सभापति बनुला वा नबनुला । तपाईले सहयोग गर्नुहोला वा नहोला । त्यो भन्दा महत्वपूर्ण कुरा कांग्रेसको एकता हो । एकता जोगाउन तपाईले पहल लिनुस् ।’ जवाफमा सभापति देउवाले पछिल्लो परिस्थितिप्रति आफू चिन्तित रहेको भन्दै सबैसँग संवादका लागि तयार रहेको बताएका छन् ।

सभापति देउवासँग छलफलका क्रममा नेता कोइरालाले महामन्त्रीहरुले आह्वान गरिसकेको अवस्थामा भृकुटीमण्डपमा बोलाइएको विशेष महाधिवेशनलाई नै संकल्प सभामा परिणत गरेर निकास खोज्न सुझाव दिएका छन् । शेखरको भनाई छ, ‘विधानतः समयमै महाधिवेशन हुनुपर्छ भन्नेमा म सधैँ उभिएको छु । अहिले चुनावका र अन्य चुनौतीका कारण पार्टी समस्यामा छ । यस्तो बेलामा उहाँहरुले बोलाएकै भेलालाई पनि साझा मञ्च बनाएर एकता जोगाउन तयार हुनुपर्छ ।’

शेखरले महामन्त्रीद्वयसँग संवाद गर्न, कुरा सुन्न र समाधानको विकल्प खोज्न देउवामाथि दवाव बढाएका हुन् । आजै २ बजेपछि उपसभापति धनराज गुरुङ र सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारसहित शेखरले पुनः सभापति देउवासँग छलफल गर्नेछन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार