काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
कांग्रेसमा महाधिवेशनको विवाद उत्कर्षमा पुगेका वेला शनिबार दिउँसो राष्ट्रपति पौडल र सभापति देउवाबीच शीतलनिवासमा भेटवार्ता भएको कांग्रेस निकट स्रोतले बताएको छ । कांग्रेसमा देखिएको विवाद मिलाउन सभापति देउवालाई राष्ट्रपति पौडेलले आग्रह गरेका थिए । स्रोतले भन्यो, ‘हिजो राष्ट्रपतिज्यू र सभापतिज्यूबीच भेटवार्ता भएको हो । सभापतिज्यूले भेटवार्ता भएको खुलाउनु भयो । के के विषयमा छलफल भयो भन्ने भन्नू भएन । सामान्य र स्वाभाविक भेटघाट हो ।’
कांग्रेसमा विवाद बढ्दै गएपछि राष्ट्रपति पौडेलले शुक्रबार महामन्त्री गगन थापा र नेता रमेश लेखकलाई शीतलनिवास बोलाएर लामो छलफल गरेका थिए । राष्ट्रपति पौडेलले शीतल निवास पुग्ने कांग्रेस नेताहरू पार्टीको विवाद मिलाउन आग्रह गरिरहेका छन् । नियमित र विशेष महाधिवेशनको विवादले कांग्रेसमा दुई खेमा देखिएका छन् ।
कांग्रेसको केन्द्रीय सम्पादन समितिले नियमित महाधिवेशनको कार्यतालिका आगामी वैशाख २८–३१ तोकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आजबाट विशेष महाधिवेशन अगाडि बढाएका छन् । आज भृकुटीमण्डपमा विशेष महाधिवेशन सुरु हुँदै छ ।