काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनको हलमा आएर निकास खोज्न चुनौती दिएका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा जारी कांग्रेसको विशेष महाधिवेशनलाई आइतबार सम्बोधन गर्दै नेता शर्माले सभापति देउवालाई भोलि बिहानै हलमा उपस्थित हुन आग्रह गरेका छन् । उनले सभापति हलमा आए आफूहरूले सम्मानजनक निकासका लागि ५ देखि ७ वटासम्म विकल्प दिने बताएका छन् । सभापति देउवालाई सम्बोधन गर्दै शर्माले भने, ‘यो कोनीको रोइलो छोडेर सधैँका लागि हल उद्घाटन गर्ने बेलामा भोलि बिहान हलमा आउनुस्, हामी तपाईंलाई ५ वटा, ६ वटा, ७ वटा विकल्प दिन सक्छौं ।’
नेता शर्माले सभापति देउवालाई फेरि चुनाव लड्न चुनौती दिँदै लोकतान्त्रिक विधिबाट जितेर देखाउन आग्रह गरेका छन् । यदि चुनावमा संस्थापन पक्षले जितेमा आफूहरूले सम्मानका साथ रथमा राखेर, माला लगाएर पञ्चेबाजासहित घरसम्म पुर्याउने उनको भनाई रहेको छ । शर्माले भने, ‘पहिलो विकल्प, तपाईं फेरि चुनाव उठ्नुस्, आउनुस्, तपाईंले जिते पनि, हामीले जिते पनि लोकतन्त्रले जित्छ । तपाईंले जितिरहँदा हामी हार्ने साथीहरूले रथ भाडामा लिएर, फूलमाला सहित घरसम्म पञ्चेबाजा बजाएर पुर्याउँछौँ । यो हाम्रो प्रतिबद्धता हो ।’
सम्बोधनका क्रममा शर्माले पार्टी नेतृत्वले विधान र पद्धतिको धज्जी उडाएको आरोप लगाएका छन् । ५४ प्रतिशत महासमिति सदस्यले हस्ताक्षर गरेर बुझाएको मागलाई केन्द्रीय समितिमा छलफल नै नगरी रद्दीको टोकरीमा फ्याँकिएको भन्दै उनले आक्रोश पोखेका छन् । उनले भने, ‘हाम्रा नेता बीपी कोइराला र सुशील दाको आत्माले हेरिरहेको भए उहाँहरूको मन रोइरहेको होला, उहाँहरू वर्षौँ जेल बस्नुभयो, केका लागि ? लोकतान्त्रिक व्यवस्था र जनताले सिटामोल खान पाओस् भनेर हो । तर आज नेतृत्वले ती मूल्यमान्यता लत्याएको छ ।’
नेता शर्माले आफूहरू बुद्धका सन्तान भएको र मारधाडमा विश्वास नगर्ने भन्दै पार्टी नफुटाउने स्पष्ट पारेका छन् । यद्यपि, उनले नेतृत्व सुध्रिएर नआए ‘मल्टिपल’ विकल्पहरू आफूहरूसँग रहेको चेतावनी दिएका छन् । उनले भने, ‘हामी पार्टी फुटाउने मान्छे होइनौँ, तर पार्टी नफुटाइ पार्टीलाई एक ढिक्का राखेर हामीले ल्याएका विकल्पमा हामी होस्टेमा हैँसे गर्नेछौँ ।’
उनले ८० वर्ष काटिसकेका सभापति देउवालाई अब विश्राम लिन र अभिभावक बन्न समेत आग्रह गरेका छन् ।