काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन समूहले कारबाही गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन–विश्वसहित सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको हो । बैठकले विशेष महाधिवेशनको पक्षमा लाग्नेहरूलाई आ–आफ्नो भूमिकामा फर्किन भनेको छ । पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरेको भन्दै उनीहरूमाथि कारबाही गरिएको बताइएको छ ।
थापा र शर्माको अगुवाइमा इतर पक्षले भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी राखेको छ । यसैबीच पटकपटक संस्थापन पक्षीय नेताहरूसँग भएको वार्ता असफल भएपछि अन्तिम समयमा उनीहरूलाई कारबाही गर्ने निर्णय देउवा पक्षले गरेको हो । कारबाहीको निर्णय सुनाउँदै गर्दा केन्द्रीय कार्यसमिति बैठकमा कार्यबाहक सभापति पूर्णबहादुर खड्का भावविह्वल देखिएका छन् ।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, गगन–विश्वलाई कारबाहीको निर्णय सुनाउँदा खड्का भावविह्वल बनेका थिए । ‘यतिधेरै गर्दानी नमान्दा पूर्वनिर्धारित योजना रहेछ, पार्टी सकिन बचाउन सकिनँ,’ खड्काले बैठकमा भनेका थिए ।
उनी थप भावविह्वल बनेको सुनाउँदै ती केन्द्रीय सदस्यले थपे, ‘सबै यत्न प्रयत्न गर्दा पनि साथीहरू लाई मनाउन सकिनँ ।’