काटमाठौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा)का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुने भएको छ। महान्यायाधिवक्ता सविता भणडरीले रविले दिएको निवेदन अनुसार २ कसुरमा मुद्दा फिर्ता गर्ने बताइन्।
‘रवि लामिछाने प्रतिवादी भएको मुद्दाहरूमा समेत लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धि अभियोग सम्मानित श्री कास्की जिल्ला अदालत, सम्मानित श्री काठमाडौं जिल्ला अदालत, सम्मानित श्री रुपन्देही जिल्ला अदालत र सम्मानित श्री पर्सा जिल्ला अदालतमा सम्मानित श्री चितवन जिल्ला अदालतमा भए सरह ठगी तथा सहकारी ठगीमा दावी गरिएको अभियोग कायम गरी संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग दावी निजको हकमा कायम नरहने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम अभियोग संशोधन हुने गरी स्वीकृति दिने निर्णय गरिएको छ’, महान्यायाधिवक्ता भण्डारीको निर्णयमा उल्लेख छ।
अब रवि, लामिछानेविरुद्ध सहकारी ठगीको मात्रै मुद्दा हुने छ। महान्यायाधिवक्ताको यो निर्णयसँगै अब रविले सांसद र मन्त्री बन्न पाउने छन्।
सम्पत्ति शुद्धीकरण मुद्धाकै कारण यसअघि उनी सांसद्बाट पनि नलम्बित भएका थिए। २०८१ असोज १८ गते कास्की जिल्ला अदालतमा रविविरुद्ध सूर्यदर्शन सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो।
त्यसअघि यही सहकारी ठगीका अभियुक्तहरुविरुद्ध मुद्दा चलेको थियो। तर उनीहरुलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अभियोग लगाइएको थिएन।
रविलाई यी कसुर लगाउने भएपछि पुरक अभियोगमा यसअघिका प्रतिवादीलाई पनि कसुरदार बनाइएको थियो। जिल्ला अदालत कास्कीबाट उनी धरौटीमा रिहा भएका थिए।
त्यसपछि २०८१ पुस २१ गते स्वर्णलक्ष्मी सहकारी ठगीको अभियोग दर्ता भएको थियो। यहाँ सहकारी ठगी र संगठित अपराधको कसुरमा अभियोग दायर गरिएको थियो।
त्यस्तै २०८१ वैशाख ३ गते रुपन्देही जिल्ला अदालतमा सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड का वचतकर्ताहरूको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दर्ता गरिएको थियो। बैशाख ६ गते अभियोगपत्रमा संगठित अपराध सम्बन्धी कसुर समेत थप गरी थप अभियोगपत्र दर्ता गरिएको थियो।
रविसहित सहकारीको सञ्चालक समिति वा सहकारीको सदस्य नभएका व्यक्तिहरूलाई समेत प्रतिवादी कायम गरी सहकारी ठगी र संगठित अपराध सम्बन्धी कसुरमा पुरक अभियोग पत्र दर्ता गरेको थियो।