काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले डडेलधुरामा सागर ढकाललाई पार्टीको उम्मेदवार बनाउने घोषणा गरेका छन् ।
डडेलधुराका पार्टी प्रतिनिधिहरूसँग राखेर उनले ढकाललाई उम्मेदवारका रूपमा अघि सारेका हुन् । रास्वपाले अहिलेसम्म कतै पनि उम्मेदवारहरूको टुंगो लगाएको छैन । पार्टीले गठन गरेको सिफारिस समितिले उम्मेदवार सिफारिस गर्नै बाँकी छ ।
पार्टीभन्दा पहिले वरिष्ठ नेताले उम्मेदवार तोकेपछि ढकाल खुसीले गदगद बने । यसअघि बालेनकै कोटाबाट उनी रास्वपा केन्द्रीय सदस्य बनिसकेका छन् ।
अघिल्लो पटक पनि लडेको हुँदा बालेनले सागर ढकाललाई डडेलधुरामा टुरिस्ट उम्मेदवार भन्न नमिल्ने तर्क गरे । यस पटक सरकार बनाउने सम्भावना बोकेको पार्टीको उम्मेदवार बनेको हुँदा स्वतः जित्ने बालेनको अपेक्षा छ ।
उनले ढकाललाई देखाउँदै भने, ‘उहाँले डडेलधुराबाट टिकट पाउने हो कि होइन भन्नेमा कन्फ्युजन होइन, रास्वपाले डडेल्धुराको उम्मेदवार सागर ढकाल पाउने हो कि होइन भन्ने चाहिँ कन्फ्यूजन हो । उहाँ फिक्स्ड हो पार्टीको तर्फबाट, उहाँ आफैँले नाइँ नभनेसम्म । उहाँले भोलि डडेलधुराबाट उठ्दिन, अन्तै जान्छु भन्नु भएन भने उहाँ नै हो डडेलधुराको उम्मेदवार ।’
बालेनले यसो भन्दा ढकालको अनुहारमा मुस्कान छाएको थियो । उपस्थित अन्यसँगै ढकालले पनि ताली बजाए ।
बालेनले थप्दै यसो भने
उहाँलाई टुरिस्ट उम्मेदवार भन्न मिल्दैन । पहिले पनि उठेर आइसक्नुभएको हो । पहिले सामान्य चुनाव चिन्ह लिएर यति धेरै भोट ल्याउनु किन अचम्म थियो भने उहाँको पार्टी थिएन । चुनाव जितेर मन्त्री बन्ने ग्यारेन्टी थिएन ।
अहिले फरक भनेको एउटा पार्टी छ । त्यो पार्टीले सरकार बनाउने सम्भावना छ । त्यो पार्टीबाट संसदमा जानुभयो भने त्यस ठाउँका लागि बोल्ने मात्र होइन, केही गर्न पनि सक्नुहुन्छ । यो कुरा एकदमै महत्त्वपूर्ण छ ।
पहिले ठूलो पार्टीको ठूलो नेता, सानो पार्टीको ठूलो नेता जो भए पनि यो व्यक्तिले सरकार बनाउँछ भन्ने सोचाइ हुन्थ्यो । जति भए पनि सरकार बनाउनेलाई दिउँ भन्ने हुन्थ्यो । झापामा पनि त्यही हो, महोत्तरीमा, काठमाडौंमा सबै ठाउँमा त्यही हो । तपाईँहरू सबै जनाले सहयोग गर्नुपर्यो । डडेलधुरा गइहाल्नुपर्यो, उहाँको लागि प्रचार गर्न ।
डडेलधुरा कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो, जहाँको एक मात्र क्षेत्रबाट देउवाले निरन्तर चुनाव जित्दै आएका छन् ।
अघिल्लो चुनावमा ढकालले स्वतन्त्र उम्मेदवारी दिएका थिए । देउवाले २५ हजार ५३४ मत ल्याएर विजयी हुँदा ढकालले १३ हजार ४३ मतका साथ दोस्रो भएका थिए । ढकाल पेशाले इन्जिनियर हुन् ।