काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीको विधानविपरीत विशेष महाधिवेशनको नाममा भेला गरिएको भन्दै आपत्ति जनाएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गर्नेक्रममा उनले पार्टी विधानअनुसार चल्ने बताएका हुन् । उनले भने, ‘पार्टी विधानअनुसार चल्छ । राजनीतिक दलको काँधमा संविधान रक्षा गर्ने दायित्व छ । विषम परिस्थितिमा पार्टीभित्रैबाट केही व्यक्तिहरूले विशेष महाधिवेशनको नाममा पार्टी अनुशासन बाहिर गएर गतिविधि गरे ।’
उनले थपे, ‘विशेष महाधिवेशनको नाममा भेला बोलाएर पार्टीको विधानविपरित निर्वाचन आयोगमा पुगेको जानकारी पायौँ । आज निर्वाचन आयोगमा आफ्ना वैधानिक कुराहरू, नेपाली कांग्रेस, विधान सबैको विषयमा गम्भीर ध्यानाकर्षण गराएर आएका छौँ ।’ उनले पार्टीको अधिवेशन तथा विशेष महाधिवेशन गर्ने अधिकार केन्द्रीय समितिलाई मात्रै भएको बताएका छन् ।
उनले भने, ‘पार्टीको अधिवेशन, विशेष महाधिवेशन गर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्रै छ । नेपाली कांग्रेसको विधानले कसैलाई पनि दिएको छैन । यो कुरा धारा र दफामा प्रष्ट छ, केन्द्रीय कार्यसमितिको निर्णयबाट मात्रै विशेष महाधिवेशन हुने व्यवस्था छ । केके विधि हुने कसरी हुने भन्ने कुरा विशेष महाधिवेशनबाट हुनुपर्ने हुन्छ । केन्द्रीय समितिलाई थाहै छैन् ।’
उनले विशेष महाधिवेशन मागकर्ताको निवेदन दर्ताबारे विशेष महाधिवेशन माग गर्नेहरूले नियमित महाधिवेशन गरियोस् नभए विशेष महाधिवेशन गरियोस् भनेर माग गरेको निवेदन दर्ता भएर बसेको बताए ।
यही आधारमा उनले नियमित महाधिवेशन गर्ने प्रक्रिया अघि बढाएको बताएका छन् । उनले यो संशोधन गर्नुपर्ने अवस्था आएको पनि बताएका छन् ।