काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन आयोगलाई पार्टीको विशेष महाधिवेशन आह्वान गर्नुपरेको अवस्थाबारे जानकारी गराएका छन् ।
पार्टीको केन्द्रीय समितिले विशेष महाधिवेशन मागकर्तालाई सम्बोधन गर्न नखोजेपछि आफूहरूले आह्वान गरेर सम्बोधन गरेको बताएका हुन् । उनले शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले आफूहरूलाई गरेको कारबाही विधानसम्मत नभएको पनि आयोगका पदाधिकारीलाई जानकारी गराएका छन् ।
विशेष महाधिवेशनमार्फत निर्वाचित पदाधिकारी नै कांग्रेसको आधिकारिक रहेको दाबीसहित उनले भने, ‘कारबाही गर्ने कुरा कानुनसम्मत छैन् । हामीले विशेष महाधिवेशन मागकर्ताहरूले विधानअनुसार नै गरेको हो । नियमित महाधिवेशनको तालिका आएपछि विशेष महाधिवेशन खारेज भयो भन्ने तर्क सही भएन ।’ नियमित महाधिवेशन नभएको अवस्थामा विशेष महाधिवेशन गरेर अघि बढ्नुपर्ने पद्दति भएको पनि थापाको भनाइ छ ।
उनले भने, ‘विशेष महाधिवेशन माग भएको ९० दिनभित्र सम्बोधन गर्नुपर्ने व्यवस्थालाई हामीले सम्बोधन गरेर अघि बढाएका हौँ, १५औं महाधिवेशनको तालिका कार्यान्वयन नहुने अवस्थामा हामी विशेष महाधिवेशन आह्वान गर्ने अवस्थामा पुग्यौँ ।’
उनले थपे, ‘नेपाली कांग्रेसको विधानले केन्द्रीय कार्यालय महामहामन्त्री मातहत रहने व्यवस्था गरेको छ । सोहीअनुसार काम गरियो ।’