काठमाडौं । आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि प्रधानमन्त्रीको दाबेदारका रुपमा रहेका उम्मेदवारहरू तराई–मधेस पुगेका छन् । जसले गर्दा आगामी प्रतिनिधि सभाको चुनाव तराई–मधेस केन्द्रित हुने देखिएको छ ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली झापा पुगेका छन् । नेकपा (एमाले)का अध्यक्ष ओली झापाबाटै चुनाव लड्दै आएका छन् । यस पटक पनि उनी झापा–५ बाट उम्मेदवारी दर्ता गर्दै छन् । जेनजी आन्दोलनका कारण राजीनामा दिन बाध्य भएका ओली प्रतिनिधि सभाको चुनावमा एमालेको नेतृत्वकर्ता हुन् । एमालेले ओलीलाई नै प्रधानमन्त्रीका रुपमा अघि सारेको छ ।
गत निर्वाचनमा ओलीले झापा–५ बाट ५२ हजार ३१९ मत पाएर प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत पाएका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुरेशकुमार पोखरेलले ११ हजार ७५९ मत पाएका थिए ।
यस पटक रास्वपाबाट झापा–५ मा पोखरेलको ठाउँमा बालेन्द्र साह (बालेन) उम्मेदवार बनेका छन् । काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर झापा पुगेका साहलाई रास्वपाले भावी प्रधानमन्त्रीका रुपमा उभ्याएको छ । रास्वपाले साहलाई झापा–५ बाट उम्मेदवार बनाएको छ । आज बिहानै साहले झापा–५ बाट उम्मेदवारी दर्ता गरिसकेका छन् ।
दुई जना प्रधानमन्त्रीका दाबेदार ओली र साह एउटै क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिएको वेला प्रधानमन्त्रीका अर्का दाबेदार नेपाली कांग्रेसका सभापति गगन थापा पनि तराई पुगेका छन् । थापा मधेस प्रदेशको सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । विशेष महाधिवेशनबाट सभापति चयन भएका थापालाई निर्वाचन आयोगले मान्यता दिएसँगै उनैले टिकट वितरण गरिरहेका छन् ।
सर्लाही–४ मा रास्वपाबाट अमरेशकुमार सिंह उम्मेदवार छन् । गत निर्वाचनमा उनी यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवार बनेका थिए । लामो समय कांग्रेसमा बिताएका उनी गत निर्वाचनमा टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका सिंहले कांग्रेस उम्मेदवारलाई पराजित गर्दै सांसद बनेका थिए । २०७९ सालको निर्वाचनमा सिंहले २० हजार १७ मत पाएका थिए ।
कांग्रेस उम्मेदवार थापा यसअघि काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका थिए । पछिल्लो तीन चुनावमा उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए । गत निर्वाचनमा थापा काठमाडौं–४ बाट २१ हजार ३०२ मत पाएर निर्वाचित भएका थिए ।