बिहिवार, आश्विन १५ गते २०८३

‘एक क्विन्टल’ को मान्छे हुँ, साइज अनुसारको काम गरेरै छाड्छु : प्रेम आले

मंगलवार , माघ ६, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता प्रेम आलेले कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

डोटीबाट लगातार तीन पटक चुनाव जितेका आलेले यसपटक पार्टीको निर्देशन अनुसार आफू कैलाली झरेको बताएका हुन् । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूलाई सांसद बन्ने रहर नभएको तर कैलालीको विकास र भ्रष्टाचार अन्त्यका लागि चुनावी मैदानमा आएको दाबी गरेका छन् । आले डोटीबाट २०७०, २०७४ र २०७९ सालमा लगातार निर्वाचित भएका थिए ।

तर, अहिले पार्टी एकताको प्रक्रिया र पार्टीको निर्देशनलाई नकार्न नसकेर आफू कैलाली–५ मा आएको उनले बताएका छन् । डोटीका जनताले आफूलाई अपार माया दिएको र आफूले पनि त्यहाँ सम्झनालायक काम गरेको जिकिर गर्दै उनले यो आफ्नो बाध्यता भएको सुनाएका छन् । आफूलाई ‘टुरिस्ट उम्मेदवार’ भनिएको विषयलाई आलेले सिधै खारेज गरे । उनले २०५४ सालमै कैलालीमा जग्गा किनेर घर बनाएको, छोराछोरीलाई यहीँको स्कुलमा पढाएको र विगत ३० वर्षदेखि यहाँ बसोबास गर्दै आएकोले आफू बाहिरको मान्छे नभएको तर्क गरेका छन् ।

आलेले आफ्नो मुख्य एजेन्डा विकास र सुशासन भएको बताएका छन् । उनले आफू मन्त्री हुँदा धनगढी विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन २ अर्ब ५ करोड बजेट विनियोजन गरेको तर आफू हट्नासाथ त्यो बजेट अन्यत्र रकमान्तर गरिएको गुनासो गरेका छन् । अब जितेर गएपछि १८ सय मिटरको रनवेलाई २५ सय मिटर पुर्‍याउने र धनगढीबाट सिधै मुम्बई, चीन र सिंगापुर उडान भर्ने व्यवस्था मिलाउने उनको दाबी छ ।

यस्तै, सेती प्रादेशिक अस्पतालको स्तरोन्नति, फाप्ला क्रिकेट मैदान निर्माण र गेटा मेडिकल कलेजलाई ५ सय बेडको अस्पतालसहित सञ्चालनमा ल्याउने उनका प्रमुख एजेन्डा छन् । फाप्ला क्रिकेट मैदानका लागि वर्षमा ५० लाख बजेट आउनु हास्यास्पद भएको भन्दै उनले त्यसमा १५–२० अर्बको बहुवर्षीय ठेक्का लगाएर छिट्टै काम सक्ने प्रतिबद्धता जनाए । धनगढी–खुटिया–दिपायल हुँदै उरै भन्ज्याङ जोड्ने त्रिदेशीय सडक र पश्चिम सेती आयोजनालाई पनि उनले प्राथमिकतामा राखेका छन् ।

आलेले पोखरा र भैरहवा विमानस्थलमा भएको भ्रष्टाचारको विषयमा आफूले संसद्मा घाँटी सुकुन्जेल आवाज उठाएको स्मरण गराए । उनले पोखरा विमानस्थलमा ७ अर्ब र भैरहवामा जग्गा खरिदमा ठूलो घोटाला भएको दाबी गर्दै भ्रष्टाचारीलाई नांगेझार पार्नकै लागि आफ्नो उम्मेदवारी भएको बताएका छन् । आफूले प्रधानमन्त्रीलाई कारबाहीका लागि भन्दा पनि सुनुवाइ नभएको उनको भनाइ छ ।

आफूले जे बोल्यो त्यो पूरा गर्ने बानी रहेको भन्दै आलेले चुनावी सभामा पार्टी अध्यक्ष प्रचण्ड र वर्षमान पुन आउने खुलासा गरे । उनले आफू ‘एक क्विन्टल’ को मान्छे भएको र आफ्नो साइज अनुसारको काम गरेरै छाड्ने दाबी गरे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार