बिहिवार, आश्विन १५ गते २०८३

नागरिक शक्ति नेपालले प्रतिनिधिसभा निर्वाचन अस्वीकार गर्ने निर्णय गर्यो

बुधवार , माघ ७, २०८२

काठमाडौं । देवप्रकाश त्रिपाठी नेतृत्वको नागरिक शक्ति नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अस्वीकार गर्ने निर्णय गरेको छ ।

सङ्गठनले समानुपातिक तर्फ दर्ता गरिएका २५ जना उम्मेदवारको नाम फिर्ता लिँदै निर्वाचनको सम्पूर्ण प्रक्रियाबाट बाहिरिने घोषणा गरेको हो । नागरिक शक्ति नेपालका महासचिव सुभास प्रसाद पाण्डेद्वारा मंगलबार जारी विज्ञप्तिमा अराजकता, भ्रष्टाचार र बेथितिले आक्रान्त मुलुकलाई दिगो निकास आवश्यक रहेको उल्लेख गर्दै शान्ति, स्थायित्व र समृद्धि सङ्गठनको मूल ध्येय रहेको उल्लेख छ । सरकार परिवर्तनबाट मात्र देशले निकास नपाउने भन्दै सङ्गठनले आमूल परिवर्तनको पक्षमा आफूहरू क्रियाशील रहँदै आएको बताएको छ ।

विज्ञप्तिमा जेनजी आन्दोलनपछिको सहमतिमा गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउने अपेक्षा गरिएको भए पनि हालसम्मका गतिविधिले सरकार निष्पक्ष नरहने स्पष्ट भएको उल्लेख छ । सरकारमाथि एक विशेष दलको प्रभाव रहेको, विध्वंसमा संलग्न दलसँग आबद्ध व्यक्तिहरू मन्त्री तथा सल्लाहकारको भूमिकामा रहेको कारण निष्पक्षता कायम नहुने निष्कर्षमा पुगेको सङ्गठनको भनाइ छ ।

त्यस्तै, निर्वाचन शान्तिपूर्ण र भयमुक्त वातावरणमा सम्पन्न हुने विश्वासका आधारहरू नदेखिएको र निर्वाचनपछि पनि देशले राजनीतिक निकास पाउने सम्भावनाका सङ्केत नदेखिएको विज्ञप्तिमा उल्लेख छ । निर्वाचन आफैँ द्वन्द्व र हिंसाको कारण बन्न सक्ने खतरा बढ्दै गएको र चुनावी मैदान रणक्षेत्रमा परिणत हुने सङ्केत देखिएकाले निर्वाचन अस्वीकार गर्ने निर्णय लिइएको नागरिक शक्ति नेपालको दाबी छ ।

निष्पक्ष वा सर्वपक्षीय सरकार गठन भई राजनीतिक निकासको मार्ग सुनिश्चित नभएसम्म वर्तमान सरकारले गराउने कुनै पनि निर्वाचनमा सहभागिता नरहने सङ्गठनले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार