काठमाडांै । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालसमेत संलग्न रहेको भनिएको पतञ्जलि भ्रष्टाचार प्रकरणको मुद्दामा माघ १४ गतेका लागि पेसी तोकिएको छ ।
विशेष अदालतको बारम्बारको आदेशपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल पठाएपछि मुद्दाको पेसी तय भएको हो । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले गत बुधबार पुनः अनुसन्धान फाइल झिकाउन आदेश दिएपछि अख्तियारले एकसातापछि आज बुधबार कागजपत्र पठाएको हो ।
अख्तियारले यसअघि मुद्दा नचल्ने गरी फाइल तामेलीमा राख्ने निर्णयमाथि माघ १४ गतेलाई पेसी तोकिएको विशेष अदालतका सूचना अधिकारी यज्ञ रेग्मीले जानकारी दिए । अख्तियारले गत जेठ २२ गते पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो ।
मुद्दामा उनीहरुसँग १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ । विशेष अदालतले नेपालसँग ३५ लाख रुपैयाँ धरौटी रकम मागेको थियो । उक्त रकम बुझाएर सहसंयोजक नेपाल गत असार ११ गते राति रिहा भएका थिए ।
विगतमा पतञ्जलि योगपीठको जग्गा खरिदमा हदबन्दी छुटको निर्णय गरेर अनियमितता गरेको आरोप नेपालमाथि छ ।