बिहिवार, आश्विन १५ गते २०८३

बालेनको घर अगाडिको बाटो मैले बनाइदिएको हुँ : अध्यक्ष ओली

बुधवार , माघ ७, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग चुनावी प्रतिस्पर्धा गर्न झापा क्षेत्र नं–५ मा आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहमाथि कटाक्ष गरेका छन् ।

बुधबार झापामा राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बालेनको पुर्ख्यौली घर महोत्तरी र त्यहाँको विकास निर्माणलाई लिएर व्यंग्य गरेका हुन् । उनले बालेनको घर अगाडिको विकास समेत आफैले गरिदिएको दाबी गरे ।

आगामी निर्वाचनमा आफूविरुद्ध उम्मेदवारी दिएका बालेनप्रति लक्षित गर्दै ओलीले भने, ‘उहाँले यहाँ के गर्नुभयो र भोट हाल्ने ? महोत्तरी–३ मटियारीबाट जनकपुर जाने बाटोमा मैले पुल हालिदिएको छु, बाटो बनाइदिएको छु । उहाँको घर अगाडिको बाटो मैले बनाइदिएको हुँ ।’ ओलीले आफूले तराई–मधेसको विकासमा कसैले नसोचेको काम गरेको दाबी गर्दै आफ्नै विकासको जगमा हिँडेर आफूलाई नै गाली गरिएको गुनासो गरे ।

काठमाडौं महानगरको मेयरबाट राजीनामा दिई रास्वपा प्रवेश गरेर झापा-५ मा उम्मेदवारी दिएका बालेनको हार निश्चित रहेको ओलीको दाबी छ । बालेनको विगतको कार्यशैलीको आलोचना गर्दै ओलीले सुकुम्बासी बस्ती भत्काउने र गरिबलाई लखेट्नेले देशको नेतृत्व गर्न नसक्ने बताए ।

‘खोला छेउमा बस्ती बनाएर बसेको देख्नै हुँदैन रे ! देख्यो कि सबै भत्काउँछन् रे,’ ओलीले भने, ’कवाडीहरूले पनि गरिखान पाउँदैनन् रे । गरिबले गरिखान नपाउने कस्तो सहर, कस्तो देश बनाउन खोजिएको हो ?’

ओलीले रास्वपा र बालेनप्रति संकेत गर्दै नयाँ भनिएकाहरू नुन नहालेको साग जस्तै अलिनो र अमिलो रहेको टिप्पणी समेत गरे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार