शाहले पाथिभराको दर्शन गरी मन्दिर परिसरको अवलोकन गर्दै त्यहाँको प्राकृतिक सुन्दरता र आध्यात्मिक महत्त्वका बारेमा बोलेका थिए ।
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ बाट उम्मेदवारी दिएका बालेन शाह अहिले पूर्वी पहाडको यात्रामा छन् । चुनावी दौडधुपको बीचमा बालेन बिहीबार साँझ पाथीभरा मन्दिर दर्शनका लागि ताप्लेजुङ पुगेका थिए ।
शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा चुनौती दिँदै गर्दा उनको यो तीर्थ यात्रा हो वा राजनीतिक हाइकिंग स्पष्ट छैन। बिहीबार दिउँसो सदरमुकाम फुङ्लिङ पुगेका उनी धेरै समय नबिताई पाथीभरातर्फ सोझिएका थिए ।
गाडी जाने अन्तिम बिन्दुबाट करिब ४ घण्टाको पैदल यात्रापछि मात्रै मन्दिर पुगिन्छ। ३ हजार ७ सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा पछिल्लो समय युवाहरूमाझ हाइकिङ ट्रेलका रूपमा पनि लोकप्रिय छ। सोही रुट हुँदै बालेन पनि हाइकिङ गरेर मन्दिर पुग्नेका हुन् ।
शाहले पाथीभरा देवीको दर्शन गरी पुनः झापाको दमक फर्किने कार्यतालिका छ। पहाडी जिल्लाको छोटो भ्रमण र दर्शन सकेर दमक फर्केलगत्तै बालेनले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो अभियान सुरु गर्ने तयारी गरेका छन् ।