बिहिवार, आश्विन १५ गते २०८३

डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिने घोषणा गरे

शुक्रवार , माघ ९, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । आगामी फागुन २१ गतेको निर्वाचनमा गोरखा–२ बाट उम्मेदवारी दिएका उनले फिर्ता लिएका हुन् ।

अन्य नेताहरूले कुनै पार्टी विशेषको नभएर साझा अभिभावक बनेर बस्न अनुरोध गरेपछि उनले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन् । उनी प्रगतीशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का तर्फबाट उम्मेदवार भएका थिए । भट्टराईले विभिन्न काल खण्डमा आफूले नयाँ वैकल्पिक शक्ति निर्माणमा लागेको र पार्टीमा पनि नयाँ नेतृत्वलाई अवसर दिएको कुरा स्मरण गराएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत ‘लाइभ’मा आफ्नो धारणा राख्दै डा. भट्टराईले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका थिए । गोरखा–२ मा उम्मेदवारी दिएका युवा र गोरखाका जनताको सुझाव सल्लाहका आधारमा उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगेको उनको भनाइ थियो । डा. भट्टराईले भने, ‘मैले आज मनोनयन पत्र फिर्ता लिने निर्णय गरेको छु ।’

गोरखाका युवा, नागरिक अगुवा तथा बुद्धिजिवीले एउटा दलमा समिति हुनुभन्दा अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेको उनले बताएका छन् । डा. भट्टराईले भने, ‘संघीय निर्वाचनमा सहभागी भएर सांसद मात्रै रहनुभन्दा बाहिर रहेर नै दलहरूलाई सघाउने र भोलि आवश्यक अभिभावकीय भूमिका निर्वाह गर्न उपयुक्त हुने सबैले सुझाव सल्लाह दिएका छन् ।’

गोरखा–२ प्रजातान्त्रिक लोकतान्त्रिक पार्टीबाट भट्टराईले उम्मेदवारी दिएका थिए । त्यस्तै, नेपाली कांग्रेसबाट प्रकाशचन्द्र दवाडी, नेकपा (एमाले)बाट मिलन गुरुङ (चक्रेमिलन), नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट लेखनाथ पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट कविन्द्र वुर्लाकोटी उम्मेदवार छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार